काठमाडौं । नेपाली रेडियो नेटवर्क आजदेखि सातौ वर्षमा प्रवेश गरेको छ । विक्रम सम्वत् २०७३ साल असोज ३ गते संविधान दिवसका दिनदेखि औपचारिक रुपमा प्रसारण आरम्भ गरेको नेटवर्कले सुरुदेखि नै लोकप्रियताको शिखर चढ्दै गइरहेको छ ।
नेपाली रेडियो नेटवर्क देशभरीका २०० भन्दा बढी रेडियोहरूबाट घन्किने गरेको छ भने दैनिक कम्तीमा ५० लाख मानिसले सुन्ने गरेको मिडिया सर्भे २०२२ ले देखाएको छ ।
सेयरकाष्ट नामक अनुसन्धान संस्थाले गरेको सर्वेक्षणले नेपाली रेडियो नेटवर्कको 'नेपाली बहस' सर्वाधिक लोकप्रिय कार्यक्रम रहेको पुष्टि गरेको छ । त्यसैगरी बेलुका आठ बजेको बुलेटिनमा प्रसारण हुने गरेको 'जनता जान्न चाहन्छ' कार्यक्रम त आम नेपालीको ओठमा झुण्डिइसकेको छ ।
दुबै कार्यक्रममा प्रस्तोता तथा यस नेपाली रेडियो नेटवर्कका अध्यक्ष ऋषि धमलाले कार्यक्रम मन पराई दिनु भएकोमा सबै श्रोताप्रति आज वार्षिकोत्सवको अवसरमा धन्यवाद ज्ञापन गर्नु भएको छ ।
नेपाली रेडियो नेटवर्कबाट बिहान साढे पाँच बजेदेखि बेलुका साढे आठ बजेसम्म समाचारमूलक बुलेटिन 'नेपाली खवर' प्रसारण हुने गरेको छ । नेपाली रेडियो नेटवर्क हरेक दिन बिहान ५ बजे प्रसारण सुरु भई बेलुका १० बजे बन्द हुने गरेको छ । यसबीचमा धेरै चेतनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू पनि प्रसारण हुने गरेका छन् ।
स्थापनाको छोटो समयमै गाउँ, सहर हुँदै विदेश सम्म नेपाली श्रोतले निरन्तर मन पराई दिएकाले हामीले हाम्रो क्षमता विस्तार तथा विकास गर्दै लगेका छौँ । नेपाली रेडियो नेटवर्क अन्तर्गत अहिले काठमाडौँमा एक हजार मेगावाटको रेडियो NRN 99.1, समाचारमुलक अनलाईन Nepalinetwork.com र युट्युब च्यानलमा 'नेपाली नेटवर्क अनलाइन टिभी' पनि रहेको छ ।
समाचार तथा कार्यक्रमहरू गर्दा सन्तुलन र विश्वसनीयतामा हामी सधैँ अत्यधिक सतर्क हुने गरेका छौँ । पत्रकारिताको मर्म र धर्मबाट हामी कहिल्यै विचल्लित भएका छैनौ र हुने पनि छैनौ । आगामी दिनमा पनि यसलाई कायम राख्दै थप सृजनात्मक प्रस्तुतीमा खरो उत्रिने अठोट व्यक्त गर्दछौँ ।
वार्षिकोत्सवको अवसरमा यस पटक कुनै औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन । रेडियोका संस्थापक तथा बोर्ड डाइरेक्टर सिए विजयराज घिमिरेको पाँच दिन अगाडि निधन भएकाले हामीले शोकका कारण औपचारिक कार्यक्रम नगरेका हौँ ।
अन्त्यमा, नेपाली रेडियो नेटवर्कका प्रवन्ध निर्देशक अमृत अधिकारीले रेडियोलाई साथ दिनु भएका हाम्रा श्रोता, सहयात्री रेडियोहरू, विज्ञापनदाता र सुवेच्छुकहरुप्रति छैटौँ वार्षिकोत्सवका अवसर हार्दिक आभार व्यक्त गर्दै भविश्यमा यो भन्दा बढी निरन्तर साथ सहयोग पाउने अपेक्षा व्यक्त गर्नु भएको छ ।