काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको छ ।
राष्ट्रपति भण्डारीसँग भेट्न आज अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु पुग्नुभएको हो ।
त्यसअघि बिहान ९ः३० बजे अध्यक्ष लीसहितको चिनियाँ प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गरेको थियो ।
भ्रमणको पहिलो दिन सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
मंगलबार (हिजो) उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्नुभएको थियो ।
ली चान्सु गत सोमबार काठमाडौं आउनुभएको थियो । सोही दिन उहाँले सभामुख अग्नि सापकोटासँग भेटवार्ता गर्नुभएको थियो ।
राष्ट्रपतिलाई भेटेपछि आज पनि उहाँले सभामुख सापकोटालाई भेट्ने कार्यसूची छ । उहाँ सापकोटाकै निमन्त्रणामा नेपाल आउनुभएको हो ।
चिनियाँ जनकंग्रेस अध्यक्ष ली नेतृत्वको प्रतिनिधिमण्डल बिहीबार (भोली) बिहान काठमाडौंबाट दक्षिण कोरिया प्रस्थान गर्नेछ ।