काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस हुनुभएको छ ।
जसपाले केन्द्रीय अध्यक्ष यादव र जिल्ला अध्यक्ष राजकुमार यादवको नाम प्रत्यक्ष तर्फको उम्मेदवारका लागि सिफारिस गरेको हो । विराटनगर आधार बनाएर राजनीति गर्नुभएका उपेन्द्र यादव पछिल्लो समय मोरङ ५ बाट उम्मेदवार बन्ने चर्चा छ । अध्यक्ष आउने टुङ्गो नभए पनि आउन चाहेमा ठाउँ खाली राखिएको जसपा नेताहरु बताउँछन् ।
मधेश आन्दोलनबाट राष्ट्रिय राजनीतिमा उदायका यादव २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरङ ५ बाट विजयी हुनुभ्रएको थियो ।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने उहाँ कांग्रेस उम्मेदवार अमृत अर्यालसँग पराजित हुनुभयो । २०७४ सालमा उहाँले सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट चुनाव जित्नुभएको थियो ।