काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरूले आआफ्नो दाबी पेस गरिरहेका छन् । पछिल्लो समय युवापुस्ता पनि राजनीतिप्रति लगाव देखाइरहेको छ । विभिन्न दलका शीर्ष नेताहरूको निर्वाचन क्षेत्रमा युवा उम्मेदवारी पनि परिरहेको छ ।
दलहरूले मुलुकको अहिलेको आवश्यकतालाई बुझ्न नसकेको र विगतलाई भजाएर आफू स्थापित हुन मात्रै खोजेको भन्दै युवाहरूले दाबी पेस गरिरहेका हुन् । अहिलेको विषम परिस्थितिमा स्थापित दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायतलाई समेत निर्वाचन सकसपूर्ण हुने देखिएको छ ।
पार्टीभित्रको आन्तरिक मतभेद र नयाँ उदयमान पार्टीको जगजगीले स्थापित दलहरूलाई समेत असर पर्ने देखिएको हो । मुलुकको प्रतिपक्षी दल नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री बनाउने सर्तसहित निर्वाचनमा होमिएको छ । नेपाली कांग्रेसमा भने भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेर निर्वाचनमा जानसक्ने स्थिति त देखिँदैन, तैपनि पार्टीभित्र प्रधानमन्त्रीमा सहमति जुटाउनुपर्ने आवाज उठ्न थालेको छ । विगतमा कृष्णप्रसाद भट्टराईको पालामा प्रधानमन्त्रीको उम्मेदवार उहाँलाई नै घोषणा निर्वाचन गएको नजिर छ ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्यका अनुसार अहिलेको अवस्थामा कांग्रेसभित्र प्रधानमन्त्रीका लागि सहमति जुटाएर जानसक्ने स्थिति देखिँदैन ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा प्रधानमन्त्री बन्न संसदीय दलको नेता हुनुपर्ने बताउँदै विगतमा पनि त्यस्तो चलन नभएकोले अगाडि नै प्रधानमन्त्रीको उम्मेदवार तय नहुने बताउनुभयो ।
कांग्रेस नेता चन्द्र भण्डारीले निर्वाचन अगावै प्रधानमन्त्रीको उम्मेदवार तय गर्न सके पार्टीले राम्रो मत ल्याउने र भएका मतभेदहरूको अन्त्य हुने दाबी गर्नुभयो । तर, लक्ष्य सिंहदरबार मात्रै भएको समस्या सिर्जना भएको उहाँको भनाइ छ ।
कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी निर्वाचनमा होमिएको बताउँदै भावी प्रधानमन्त्रीको प्रस्ताव नआउने र चुनावी नतिजापछि मात्रै रणनीति बन्ने बताउनुभयो ।
कांग्रेसभित्र पनि राजनीतिमा युवाहरूले नेतृत्वमा आउनुपर्ने दबाब छ । कांग्रेसको केही समय अगाडि सम्पन्न महाधिवेशनले पनि पार्टीमा युवाहरूलाई स्थान दिएको छ । उमेर पुगिसकेका नेताहरूलाई ससम्मान व्यवस्थापन गर्दै नयाँ जोस, जाँगर भएका युवाहरू राजनीतिक नेतृत्वमा पुग्नुपर्ने चौतर्फी आवाज उठ्न थालेको छ । मुलुकमा स्थापित नेता र दलहरूले राजनीतिक स्थायित्व कायम गर्न नसकेकै कारण पनि जनतामा दिनानुदिन वितृष्णा बढ्दै गएको छ ।