काठमाडौं । नेकपा एमालेका सांसद झपट रावलले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)बारे यथार्थ जानकारी माग्दै प्रधानमन्त्री कार्यालयमा सूचना दर्ता गर्नुभएको छ ।
उहाँले एसपीपीका सम्बन्धमा नेपाल सरकारका तर्फबाट सहभागी नहुने भन्ने निर्णय गरेर पत्राचारसमेत गरिएको तर उक्त पत्र सार्वजनिक नभएकाले त्यसबारे जानकारी गराउन सूचनामा माग गर्नुभएको छ ।
प्रतिनिधि सभाले पत्राचार गर्न निर्देशन दिएको अवस्थामा साँच्चीकै सरकारले यस विषयमा पत्राचार ग¥यो वा गरेन भन्ने बारेमा यथार्थ जानकारी गराउन सांसद् रावलले माग गर्नुभएको छ ।
उहाँले सूचनामा भन्नुभएको छ, ‘प्रतिनिधि सभाले सम्बन्धित देशलाई पत्राचार गर्नको लागि नेपाल सरकारलाई निर्देशन समेत दिएको छ। सरकारले यस विषयमा के कसरी पत्राचार गर्यो पत्राचार गन्यो वा गरेन ? पत्राचारमा के के ब्यहोरा उल्लेख गरियो? जस्ता विषयमा प्रतिनिधि सभा तथा आम जनता अन्योलमा रहेका छन्। यस सम्बन्धमा नेपाल सरकारले संयुक्त राज्य अमेरिकालाई पठाएको पत्रको प्रतिनिधि संसद्लाई जानकारी गराउन प्रतिनिधि सभाका सदस्यहरूबाट बैठकमा बारम्बार माग पनि भइरहेको छ।’
यस्तै उहाँले प्रतिनिधि सभाले व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गरेको एमसीसी सम्झौताका सम्बन्धमा पनि अमेरिकाको धारणाबारे यथार्थ जानकारी गराउन माग गर्नुभएको छ ।
सरकारले व्याख्यात्मक टिप्पणीसहित पारित गरेको तर उक्त टिप्पणीलाई अमेरिकाले स्वकार ग¥यो या गरेन भन्ने सम्बन्धमा कुनै सूचना उपलब्ध नभएकाले त्यसबारे पनि जानकारी गराउन उहाँले माग गर्नुभएको छ ।
उहाँले हरेक नागरिकलाई सार्वजनिक सरोकारको विषयमा सूचना माग्ने र पाउने हक संविधानले सुरक्षित गरेको भन्दै यी दुई विषयमा पनि जनताको चासो भएकाले प्रधानमन्त्री कार्यालय तथा नेपाल सरकारसँग यथार्थ जानकारी उपलब्ध गराउन माग गर्नुभएको हो ।