एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको यस वर्षको संस्करणमा उपाधि दाबेदारका रुपमा रहेको चेन्नई सुपर किङ्समाथि समस्या थपिँदै गएको छ । शुक्रबार मात्रै चेन्नईका खेलाडीसहित १० जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो । आइपिएलका लागि युएर्ई पुगेका ब्याट्सम्यान सुरेश रैना एकाएक स्वदेश फर्किएपछि उक्त टोली थप समस्यामा परेको हो । उनी व्यक्तिगत कारण देखाउँदै भारत फर्किएका छन् ।
चेन्नईका रैनाले यस संस्करणको आइपिएल गुमाउने भएका छन् । चेन्नईले ट्विटरमार्फत व्यक्तिगत कारण देखाएर रैना घर फर्किएको पुष्टि गरेको छ ।
‘सुरेश रैना व्यक्तिगत कारण देखाएर भारत फर्किएका छन्’, क्लबका सिइओ केएस विश्वनाथनले भनेका छन्, ‘आइपिएलमा उनी उपलब्ध हुने छैनन् । चेन्नई यस समयमा सुरेश र उनको परिवारलाई पूर्ण सहयोग प्रदान गर्न चाहन्छ ।’
गत अगस्ट १५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका रैना चेन्नईका महत्वपूर्ण खेलाडी हुन् । आइपिएलको यस संस्करण युएईमा हुँदैछ । खेल तालिका सार्वजनिक नभए पनि कोरोना महामारीका कारण युएईमा तय गरिएको १३ औं संस्करणको आइपिएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुनेछ ।