Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

अष्ट्रेलिया बस्ने नेपालीहरू साउन महिनाभरी शिवको आराधनामा

अष्ट्रेलिया बस्ने नेपालीहरू साउन महिनाभरी शिवको आराधनामा

  • बुधवार, श्रावण २५ २०७९

  • 846
    SHARES

  • अष्ट्रेलिया बस्ने नेपालीहरू साउन महिनाभरी शिवको आराधनामा

    काठमाडौं । साउन महिनालाई शिव आराधनाको महिनाको रूपमा लिइन्छ। साउन महिनाभर आराध्यदेव महादेवको आराधना गर्ने, सात्त्विक भोजन गर्ने, हरिया र रंगीचंगी परिधान लगाउने सांस्कृतिक तथा लौकिक प्रचलन रहँदै आएको छ।

    नेपाली संस्कृती र जीवन पद्दतीको अभिन्न अंग बनेको साउनको शिव आराधनाको परम्परा नेपाली जनसंख्यासँगै विश्वव्यापी बनेको छ। यसै सन्दर्भमा अष्ट्रेलियामा बस्ने नेपालीहरूले पनि साउन महिनालाई शिव आराधनाका साथ मनाइरहेका छन् । हरियो पहेलो परिधानमा सिड्नी, मेलबर्न, पर्थ, एडिलेड, तासमानिया, ब्रिजबेन, क्यानबेरा, डार्बिनका ठूला साना सबै सहरहरूमा रहेका शिव मन्दिर पुग्नेहरूको संख्या उल्लेख्य छ।

    सोमबारका दिन काममा बिदा लिएर साथीहरूसँग शिव मन्दिर दर्शनका लागि जानेको संख्या उल्लेख्य रहेको ती शहरहरूमा रहेका नेपाली सामुदायिक अभियन्ताहरूले जनाएका छन्। सिड्नीको बार्डियाकी बासिन्दा बिन्दु खनाल पौडेल क्विन्स्ल्यान्ड राज्यको टाउन्सभिल सहरबाट सिड्नी घुम्न आएकी ईशा बस्नेतको परिवारसहित शिव मन्दिर पुगिन्।

    दुई परिवारको सिड्नी भेट घुमघाममा मात्र सीमित रहेन, साउनको शिव आराधना मुख्य बन्न पुग्यो। रजिस्टर्ड नर्सको पेसामा रहेकी बस्नेत जस्तै अन्य राज्यबाट सिड्नी आउनेहरू मिन्टोमा रहेको शिव मन्दिर पुग्न छुटाउँदैनन्। त्यसमा पनि साउनको महिना र सोमबार सिड्नीमा हुनेहरू मिन्टोमा रहेको नेपाली भनेर चर्चित र भारतीय समुदायको भनेर चर्चित दुवै मन्दिर पुग्छन् पुग्छन्। सिड्नीको पर्याय नै बनेको छ मिन्टोको शिव मन्दिर धेरै शिवभक्तका लागि।

    सिड्नीको एक कम्पनीमा प्रोजेक्ट इन्जिनियरका रूपमा कार्यरत बिन्दु खनाल पौडेल कुलदेव भएका कारण सधैं नै शिवजीको आराधना गर्नेमा पर्छिन्। उनका श्रीमान् धिरज पौडेल र छोरी विधि पनि शिव भक्त नै हुन्। परिवार नै शिव भक्त उनका लागि साउनको महिना सधैं नै विशेष हुने गर्दछ। अष्ट्रेलियाको व्यस्त जीवनशैलीका बीच मिलेसम्म ब्रत बस्ने र मन्दिर जाने सधैं भए पनि साउनमा महिनाभर नै चोखो खाने र विशेष पूजा अर्चना गर्ने उनीहरूको चलन छ। पौडेलले कामको कारण पहिले जस्तो व्रत बस्न नसके पनि यो वर्ष शाकाहारी खानपान र शिव मन्दिर पुगेर पूजाअर्चना भने गरेको बताइन्।

    यतिखेर सिड्नीका मात्र नभएर अष्ट्रेलियाका अन्य राज्यमा बस्ने नेपालीहरूले व्रत र पूजा गर्न मन्दिर नै पुग्न नसके पनि शाकाहारी खाना खाने र सोमबार घरमै शिवजीको पूजा गर्ने गरेका छन्। सिड्नीका नेपाली मासु पसल र रेस्टुरेन्ट सञ्चालकहरु साउनको महिनामा नेपालीहरूको मांसाहारी अलिक कम हुने गरेको बताउँछन्।

    शिव आराधनाको अवसर एउटा परम्परा भएको भए पीन त्यसलाई आफ्नै स्वास्थ्य हित र छोराछोरीका लागि एउटा संस्कारको हस्तान्तरण भएकाले अष्ट्रेलियामा बस्ने नेपालीहरूले यस्ता परम्परा र आराधनाका विषयलाई विधिपूर्वक मनाउनुपर्ने अष्ट्रेलियाका सफ्टवेयर इन्जिनियर तथा युवा अभियन्ता मदनमणि अधिकारी बताउँछन्। सिड्नीमा सफ्टवेयर कोडिङ तालिम दिने संस्था डेण्डेड कोडका बिजनेस डेभलपमेन्ट म्यानेजर अधिकारी ‘धर्मो रक्षती रक्षितः’ भन्ने नेपाली मान्यतालाई लिएर अघि बढ्न सके अष्ट्रेलियामा नेपाली संस्कार र संस्कृतीको पहिचानलाई स्थापित गराउन सकिने बताउँछन्।

    व्यस्त पण्डित, देशभर नै रूद्री र रुद्राभिषेक

    अष्ट्रेलीयामै घरबार बसाउन थालेपछि नेपालीहरूका लागि अष्ट्रेलिया परदेश नभई घरदेश हुन थाल्यो। अष्ट्रेलिया नै घर भएपछि नेपालीहरूले आफ्नो धार्मिक परम्परा र पर्वहरूलाई नेपालमा घरमा जसरी मनाइन्थ्यो त्यसलाई यहाँ पनि त्यसरी मनाउन थाले। अष्ट्रेलियामा विशिष्ट पहिचान बनाएर पण्डित प्रकाश डोढारी अष्ट्रेलिया आएका नेपालीहरू यहाँ सेटल हुने, घर करिअर बनाउने गरेर यतै स्थायी रुपमा बस्न थालेपछि नेपाली पर्व र परम्परालाई नेपालको जस्तै मात्र नभएर नेपालमा भन्दा पनि बढी मनाउने गरेको बताउँछन्।

    यतिखेर देशभरका नेपाली पण्डितहरू रूद्री तथा रूद्राभिषेक र शिव आराधनाका लागी व्यस्त रहेको पण्डित डोढारीले बताए। उनका अनुसार यतिखेर नेपाली तथा अन्य मन्दिरहरूमा शिव आराधनाका लागि आउने भक्तजनको संख्या पनि उल्लेख्य रूपमा बढेको छ भने उनी स्वयं पनि अन्य समयभन्दा बढी नै व्यस्त छन्।

    एडिलेडमा निस्क्यो बोलबम यात्रा

    दक्षिण अष्ट्रेलियाको प्रमुख सहर एडिलेडमा नेपाली शिवभक्तहरूले बोलबम यात्रा निकालेका छन्। आराध्यदेव महादेवको प्रिय महिनाका रूपमा लिइने साउनमा नेपाल, भारतलगायतका देशमा जस्तै गरेर अष्ट्रेलियामा पनि पहेँलो बस्त्र र परिधानका साथ शिवभक्तको बोलब यात्रा निस्केको छ। सोमबार एडिलेडमा रहेको शिव मन्दिर डोभर गार्डेनदेखि स्थानीय समुद्र तट ब्राइटनसम्म करिब सात किलोमिटरको दूरी तय गर्ने गरी बोलबम यात्रा सम्पन्न भएको बोलबम यात्राका संयोजक गोकुल ढकालले जानकारी दिनुभयो।

     


    बुधवार, श्रावण २५ २०७९११:५४:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij