काठमाडौं । नेपाली काँग्रेसका शीर्ष नेताको बैठकमा स्वाभाविक देखिने गरी गठबन्धनमा सिटको तालमेल गर्नुपर्ने आवाज उठेको छ । आज गठबन्धन सम्बद्ध बाँकी दलको कुरा सुनेर फेरि बस्ने गरी बैठक सकिएको छ ।
आज दिउँसो ३ बजे आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटका लागि गठबन्धनको कार्यदलको बैठक बस्दै छ ।
बैठकमा गठबन्धनको सिट बाँडफाँटको आधार र मापदण्डको विषयमा छलफल हुने छ । पार्टीका नेताहरूको परामर्शका आधारमा सुरुमा आधार र मापदण्ड तय गरेपछि सिट बाँडफाँटबारे छलफल गर्ने कार्यदलको तयारी छ ।
प्रत्यक्ष तर्फ प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० निर्वाचन क्षेत्रको सिटमा बाँडफाँटका लागि कार्यदलले मापदण्ड र मोडालिटी बनाउने कार्यभार पाएको छ । प्रतिनिधिसभामा काँग्रेसले कम्तीमा ९५ सिट र अन्य दलले ८० देखि ८५ सिट दाबी गरेका छन् ।
प्रदेशमा पनि कर्णाली बाहेकमा काँग्रेसले एकल बहुमत आउने गरी दाबी प्रस्तुत गरेको छ। एक्लै बहुमत नजिक पुग्ने काँग्रेसको दाउ र आफ्नो समर्थन बिना बहुमतमा जान नदिने माओवादी र समाजवादीको रणनीति देखिन्छ ।