काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक स्थगित भएको छ । तयारी पूरा नभएको कारण बैठक स्थगित भएको सो पार्टीका नेता मनिष मिश्रले जानकारी दिनुभएको छ। चुनावी गठबन्धन, संगठन विस्तारलगायतका विषयमा छलफलका लागि बोलाइएको बैठकमा प्रस्तुत हुने एजेण्डाको तयारी पूरा नभएको कारण आज बस्ने भनिएको बैठक स्थगित भएको उहाँले बताउनुभयो।
चुनावी गठबन्धनका लागि दलहरूसँग अझै केही छलफल गर्ने, एउटा निष्कर्षमा पुगेपछि बैठकमा त्यसलाई एजेण्डाको रुपमा राख्ने योजना अनुसार आजको बैठक स्थगित भएको उहाँको भनाइ छ । लोसपाले चुनावी गठबन्धनका लागि काँग्रेस, एमाले, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी लगायतसँग छलफल गरिरहेको छ ।
तर कुन दलसँग गठबन्धन गर्ने भन्नेबारे अहिलेसम्म टुङ्गो लागेको छैन । यद्यपि लोसपा पाँच दलीय सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक देखिएको छ । लोसपाले आइतबार संसदीय दलको बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सत्ता गठबन्धन तथा सरकारको विषयमा छलफल गरेको छ ।
गठबन्धन र सत्ता सहकार्यको विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापानबाट फर्केपछि टुङ्गो लाग्ने आश्वासन प्रधानमन्त्री देउवाले दिनुभएको छ । गठबन्धनको विषयमा केही टुङ्गो लागेपछि कार्यकारिणी समितिको बैठक बस्ने बताइएको छ ।
लोसपाको केन्द्रीय समिति गठनको तयारी पनि भइरहेको छ । त्यसको पनि तयारी पूरा भएको छैन । अन्य संगठन निर्माणको काम पनि बाँकी छ ।