काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) संसदीय दलको बैठक आइतबार(आज) बस्ने भएको छ । दिउँसो १ बजे बानेश्वरस्थित संसद् भवनमा बैठक बस्ने संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताउनुभयो ।
संसद्मा विचाराधीन रहेको विभिन्न विधेयकको बारेमा छलफल हुनुको साथै अगामी चुनावमा दलहरूसँग तालमेलको विषयमा पनि छलफल हुने उहाँले बताउनुभयो । लोसपाले अगामी संघ र प्रदेशको चुनावमा कुनै न कुनै दलसँग तालमेल गर्ने भनी यसअघि नै निर्णय गरिसकेको छ । त्यसका लागि लोसपाले काँग्रेस, एमाले, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसँग छलफल पनि गरेको छ ।
तर कुन दलसँग गर्ने विषयमा टुंगो लागेको छैन । आज बस्ने संसदीय दलको बैठकले त्यस विषयमा छलफल हुने भएको छ । साथै बैठकले सरकारको विषयमा पनि छलफल गर्ने बताइएको छ । आज संसदीय दलको बैठक सकिएपछि भोलि केन्द्रीय कार्यकारिणीको बैठक बस्नेछ ।