काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले १३ वटा निर्णय गरेको छ । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मिति तोक्ने, सचिवहरूको बढुवादेखि सरुवा र नगरपालिकाको केन्द्र सार्ने निर्णय बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।
मन्त्रिपरिषद्को सहसचिव दीपक काफ्लेलाई सचिवमा बढुवा गरेको छ । त्यस्तै उहाँलाई लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन पनि गरेको छ । मन्त्रिपरिषद् बैठकले लेखा परीक्षण सेवाकी सहसचिव विन्दु विष्टलाई पनि सचिवमा बढुवा गरेको छ । उहाँलाई महालेखा परीक्षकको कार्यालयको उपमहालेखापरीक्षकमा पदस्थापन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीका (सचिव) यादवप्रसाद कोइरालासहित ६ जना अधिकृतको पनि सरुवा गर्ने निर्णय गरेको छ । बिहीबारकै मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय समेत गरेको छ ।
यस्तै बैठकले ५ लाख रुपैयाँसम्मको निक्षेप सुरक्षणको सीमालाई बढाएर ५ लाख रुपैयाँ पुर्याउन स्वीकृति दिएको छ । यो स्वीकृतिसँगै अब बैंक तथा वित्तीय संस्थामा राखेको ५ लाख रुपैयाँसम्मको निक्षेपको बीमा हुने भएको छ ।
सरकारले जापान सरकारले दिने करिब १४ अर्ब ६९ करोड रुपैयाँ सहुलियत ऋण लिन प्रक्रिया अगाडि बढाउने भएको छ । यसका लागि वार्ता टोली गठन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।