मंसिर ४ गते हुने चुनावका लागि आयोगले आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया सुरु गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अबका १०७ दिन आयोगले औपचारिक रुपमा तयारी थाल्ने बताउँदै निर्वाचन भयरहित र धाँधलीरहित हुनेमा विश्वस्त रहन आग्रह गर्नुभएको छ ।
निर्वाचनमा भाग लिन चाहने दलले दल दर्ताको लागि आयोगले तोकेको समय र ढाँचामा आयोग समक्ष निवेदन दिनुपर्ने कानूनी व्यवस्था छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोकिएसँगै मतदाता नामावली संकलन स्थगित हुने भएको छ ।
आयोगले हाल देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय आदि ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको छ । चुनाव घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित गर्ने प्रचलन छ । निर्वाचन भएको मितिदेखि गणना हुने भएकोले प्रतिनिधिसभा र प्रदेशसभा सांसदको पदावधि आउँदो मंसिरको २१ गतेसम्म रहने छ ।
निर्वाचनको तयारी शुरु भएसँगै नेपाल प्रहरीले पनि सुरक्षा तयारी थालेको छ । केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार प्रदेश र प्रतिनिधिसभाको निर्वाचन, २०७९ विशेष सुरक्षा कार्ययोजना बनाउन थालिएको छ ।
प्रहरीले यसअघि दुई चरणमा निर्वाचन भए शान्ति सुरक्षा र निर्वाचनको सुरक्षा व्यवस्थापन सहज हुने बताउँदै आएको थियो । स्थानीय तहको निर्वाचनमा छिटपुट घटना भएपनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कुनै अप्रिय घटना हुन नदिने गरी सुरक्षा व्यवस्थापन मिलाइने प्रवक्ता राइको भनाइ छ ।
प्रहरीले निर्वाचन सुरक्षा तयारीका लागि कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापाको नेतृत्व सेल बनाउने तयारी गरिरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने सरकारको निर्णयको नेकपा एमालेले स्वागत गरेको छ । एमालेका नेता डा. भीम रावलले नियमित पक्रिया अनुसार सरकारले मिति तोकेको बताउँदै निर्वाचन धाँधलीरहित बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।
निर्वाचन आयोगले मौजुदा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पदावधि आगामी २०७९ मंसिर २२ गतेसम्म रहनसक्ने बताएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ हुन्छ भन्ने सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था नभएको तथा प्रत्येक सदस्यको निर्वाचित मितिलाई गणना गर्दा फरक फरक मिति मान्नुपर्ने आयोगको जिकिर छ ।
सरकारले ५ वर्षे संसदको कार्यकाल पुरा हुनेगरी निर्वाचनको मिति घोषणा गरेसँगै प्रतिनिधिसभाको आयु कहिलेसम्म रहने भन्ने चासो रहेको हो ।