काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू उपस्थित छन् ।
बैठक दिउँसो ३ बजेदेखि सुरु भएको र अहिले पनि जारी रहेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभएको छ । बैठकमा प्रतिनिधिसभा र प्रदेश सभाको चुनावबारे छलफल गर्ने एजेण्डा छ । प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद् बैठकबाट आमनिर्वाचनको मिति घोषणा गर्ने बुझिएको छ ।
चुनावको मिति तोक्न सत्तारुढ गठबन्धनका दलसँग सहमति खोज्नकै लागि प्रधानमन्त्री देउवाले आजका लागि बैठक बोलाउनुभएको हो । निर्वाचन आयोगले आगामी ४ मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिसकेको छ । तर, सरकारले अहिलेसम्म चुनावको मिति तोक्न सकेको छैन ।