काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले नेत्रविक्रम चन्द विप्लवसहित उक्त समूहमा रहेका नेताविरुद्ध जारी गरिएको पक्राउ पुर्जी फिर्ता लिन माग गरेको छ । विगतको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्दै अगाडि बढ्न पनि सरकारसँग एमालेले आग्रह गरेको हो ।
प्रतिनिधिसभाको मंगलबार(आज)को बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले विप्लव समूहसँग तत्कालीन केपी शर्मा ओली सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ ।
यदि सरकारले चन्द लगायतका शान्ति प्रक्रियामा आइसकेका नेताहरूलाई पक्राउ पुर्जी जारी गरेको हो भने सरकारले त्यसबाट तत्काल पछि हटेर पक्राउ पुर्जी फिर्ता लिन पनि सुझाव दिनुभयो । सरकार अविच्छिन्न उत्तराधिकारवाला रहने भएकाले विगतका सम्झौता कार्यान्वयन हुनुपर्ने उहाँको भनाइ थियो ।
भट्टराईले विप्लव समूहमा रहेका नेताहरूलाई राजनीतिक दल दर्ता गरेर शान्तिपूर्ण राजनीति गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।
ललितपुर जिल्ला अदालतले सोमबार(हिजो) चन्दसहितका नेताविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको थियो । ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना‚ विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध‚ आपराधिक लाभ र संगठित अपराधको कसुरमा नेत्रविक्रम चन्दसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । जसमा खड्कबहादुर विश्वकर्मा, उनकी श्रीमती नन्दा विश्वकर्मा, उदयबहादुर चलाउने, धर्मेन्द्र बास्तोला, पदमबहादुर राई, सन्तोष बुढामगर, मोहनबहादुर कार्की, टेकबहादुर केसी, भरतबहादुर बम, नवीन विश्वकर्मा, उमा भुजेल, शंखर दमाई, दमयन्तीकुमारी श्रेष्ठ चिमोरिया, बाबुलाल पुन मगर, सुदीप कुँवरलगायत छन् ।