काठमाडौं । नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका विकृतिहरू समाधानका लागि १५ बुँदे मागपत्र बुझाएको छ ।
आज अध्यक्ष पञ्चा सिंहसहित क्रान्तिकारीका पदाधिकारीहरूले त्रिवि उपकुलपति पा. डा. तीर्थराज खनियासमक्ष मागपत्र बुझाएका हुन् ।
मागपत्रमा देशकै ठूलो र पुरानो प्राज्ञिक थलोको रुपमा रहेको विश्वविद्यालयलाई शैक्षिक ठेकेदारहरूबाट हमला भएको आरोप लगाउँदै आम विद्यार्थीमाथिको भविष्यमा खेलबाड भइरहेको उल्लेख गरिएको छ ।
‘विश्वविद्यालय प्रशासनको प्रमुख उपकुलपतिको कार्यालयमै १४१ दिनको तालाबन्दी, शिक्षाध्यक्ष, रजिष्टारको कार्यकक्षका महिनौँ देखिका तालाबन्दी, त्रिवि सेवा आयोगको आंशिक प्राध्यापकहरूको तालाबन्दी, विभिन्न विभागहरूमा भई राखेका तालाबन्दीले विश्वविद्यालय कुन अवस्थाबाट गुज्रिएको छ र यसका सञ्चालकहरूबाट विश्वविद्यालय कसरी चलिरहेको छ भन्ने सजिलै अन्दाज लगाउन सकिन्छ’, पत्रमा भनिएको छ ।
क्रान्तिकारीले आजको दिनमा विश्वविद्यालयलाई समयानुकूल रूपान्तरणको माग राख्दै विद्यार्थीहरूलाई सर्वसुलभ ,विश्वसनीय र गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरणको सुनिश्चितता गर्न १५ बुँदे माग प्रस्तुत गरेको हो । आफ्ना मागहरू तत्काल पूरा नगरी बेवास्ता गरी गैरजिम्मेवार बनेमा सङ्गठनले जस्तोसुकै कदम चाल्न पनि तयार रहेको चेतावनी समेत दिएको छ ।
सङ्गठनले प्राध्यापकहरूलाई खुल्ला प्रतिस्पर्धाको बाटोमार्फत दक्ष जनशक्ति परिपूर्तिको माग गरेको छ । त्यस्तै, प्रश्नपत्र निर्माणमा देखिएको विकृति र लापरबाहीलाई रोक्न स्पष्ट कानुनी व्यवस्था गरी यस्तो प्राज्ञिक बेथितिको पूर्णतया अन्त्य गर्न आग्रह गरेको छ ।
१५ बुँदे मागहरू !