काठमाडौं । औषधि तथा उपकरण खरिदमा अनियमितता नभएको स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्य सेवा विभागको औषधि खरिदमा अनियमितता भएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियासँग मंगलबार स्पष्टीकरण सोध्नुभएको थियो ।
तर, प्रमुख चौरसियाले कुनै गलत नगरेको दाबी गर्नुभएको थियो । करिब १० अर्बभन्दा बढीको औषधि र उपकरण खरिद गर्दा कुनै अनियमितता नभएको विभागले दाबी गरेको छ । विभागद्वारा खरिद प्रक्रिया सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ अनुसार नै भएको विभागले प्रस्ट पारेको छ । आर्थिक वर्ष २०७८/७९ मा १० अर्बको नभई २ अर्ब ४५ करोड अनुमानित लागतको खरिद प्रक्रिया सुरु गरी करिब १ अर्ब ९३ करोडको खरिद सम्झौता भएको विभागले जनाएको छ ।
समाचारहरूमा उल्लेख गरिएजस्तो १० अर्बको नभई २ अर्ब ४५ करोड अनुमानित लागतमा खरिद प्रक्रिया सुरु गरी करिब १ अर्ब ९३ करोडको खरिद सम्झौता भएको विभागले जनाएको छ ।
विभागले कुनै पनि एक फर्मसँग मात्र खरिद कार्य गरेको, आर्थिक हिनामिना गरेको भन्ने कुरामा पनि सत्यता नरहेको जनाएको छ । ‘खरिद सम्बन्धी काम कारबाही गर्दा प्रचलित कानुन विपरीत हुने गरी कुनै काम नगरिएको, खरिद कार्य स्वच्छ, प्रतिस्पर्धा हुने गरी निष्पक्ष ढंगले गरिएको ब्यहोरासमेत जानकारी गराउन चाहन्छौँ,’ विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।