काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करका दर हेरफेर गरेको विषयमा छानबिन गर्न बनेको संसदीय छानविन विशेष समितिले आज सभामुख अग्नि सापकोटालाई प्रतिवेदन बुझाउँदैछ।
प्रतिवेदनलाई अन्तिमरुप दिन हिजो दिनभर समितिको बैठक बसेको थियो। समितिका सभापति लक्ष्मणलाल कर्णले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाको समय लिएर प्रतिवेदन बुझाउने समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो।
समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि अभियोग पुष्टिको प्रमाण फेला नगरेको निष्कर्ष निकालेको छ। तर, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निष्कर्षमा फरक मत राखेको छ। प्रमाण नभेटिएको नभइ मेटिएको विषय सामेल गर्नुपर्ने एमालेको फरक मत छ।
समिति सचिव सुरेन्द्र अर्यालले प्राविधिक विषय मिलाएर अब प्रतिवेदन बुझाइने बताउनुभएको छ । अर्यालले भने, ‘करिब अन्तिम बैठक भएकाले प्रतिवेदन तयारी सम्पन्न भएको छ। प्राविधिक विषय मिलाएपछि सभामुखसमक्ष प्रतिवेदन बुझाइने छ।’
तर, एमालेका तर्फबाट समितिमा सदस्य रहेका खगराज अधिकारीले प्रतिवेदनमा आ–आफ्ना पक्षका विषय समेटिएको बताउनु भएको छ। अधिकारीले केही विषय सहमतिमै टुंगिए पनि कतिपयमा छलफल नै बाँकी रहेको बताउनुभयो ।
समितिको मूल प्रतिवेदनमा कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को एकमत छ। एमालेका सदस्यहरुले फरक मत राखेका छन्। सभामुख सापकोटालाई बुझाउनुअघि निष्कर्षमा अन्तिम पटक छलफल गर्ने तयारीसमेत छ।