काठमाडौं । चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक बालकको मृत्यु भएको घटनालाई लिएर पीडित पक्षले उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई अस्पताल भित्रै थुनेका छन् ।
पीडित पक्षले उपचारमा चिकित्सक तथा नर्सहरूले लापरबाही गरेको आरोप लगाएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १५ का एक बालकको उपचार क्रममा लापरबाही गरेको भन्दै आफन्तले अस्पतालका शिशु वार्डका डाक्टर, नर्स र पारामेडिक्स गरी १२ जनालाई उनीहरूकै कक्षमै थुनिदिएका हुन् ।
शोभा लम्साल र राम लम्सालको ३ महिनाको छोरा बिरामी भएपछि उपचारका लागि बिहीबार बिहान १० बजे अस्पतालमा ल्याइएको थियो । तर, उपचारको क्रममा बालकको दिउँसो ३ बजे मृत्यु भएको थियो ।
पीडित परिवारले समयमा नै चिकित्सकले उपचार नगर्दा बालकको मृत्यु भएको जनाएका छन् । उपचार छाडेर नर्सहरू वार्डमा नै नर्सहरू जन्मदिन मनाउन लागेको मृतक शिशुको आफन्तले आरोप लगाएका छन् ।
अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले दूध सर्किएर बच्चाको मृत्यु भएको बताउनुभएको छ । अस्पतालका बाल चिकित्सक डा.ओमकृष्ण पाठकले शिशुलाई बचाउन सक्दो प्रयास गरेको तर नसकेको बताउनुभयो ।