काठमाडौं । काठमाडौं महानगरपालिका पूर्वमेयर केशव स्थापितले वर्तमान मेयर विद्यासुन्दर शाक्यको कामको मूल्यांकनमा उनलाई शुन्य अंकमात्र दिने बताउनुभएको छ । उहाँले विद्यासुन्दरलाई आफूले काँधमा राखेर जिताएको दाबीसमेत गर्नुभएको छ ।
यसको प्रमाण पेश गर्दै स्थापितले चुनावताका विद्यासुन्दरलाई काँधमा बोकेको तस्बिरसमेत सामाजिक सञ्जालमा राख्नुभएको छ ।
पूर्वमेयर स्थापितले आफूले काठमाडौं महानगरपालिकाका लागि १०१ योजना ल्याएर विद्यासुन्दरलाई दिएको तर त्यो कार्यान्वयन गर्न नसकेको संकेत गर्नुभएको छ ।
‘विद्यासुन्दर शाक्यलाई मैले काँधमा राखेर जिताएको हुँ । १०१ योजना मैले ल्याएको हुँ । मैले दिएको १०१ काम गर्यो भने मेयर भयो । तर, त्यो हुँदै भएन । अब मेयर असफल भयो भनेर निर्मम भएर भन्ने हो’ सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, ‘तपाईँको मूल्यांकनमा १०० मा कति अंक दिनुहुन्छ मेयरलाई ? म १०० अंकमा ० दिन्छु ।’
