काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्रकुमार कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा नियुक्त गरिएकोमा कटाक्ष गर्नुभएको छ ।
भ्रष्टाचारमा मुछिएका कोइरालाको नियुक्तिले भ्रष्टाचारीलाई शुन्य सहनशीलताको नीति लिएको मन्त्र जप्ने वर्तमान् ओली सरकारको खिल्ली उडेको उहाँको भनाइ छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेल सिसिएमसीका संयोजक रहेको र उनका सम्धी कोइराला वाणिज्य बैंकको सञ्चालक सञ्चालकमा नियुक्त भएकाले दुवैका दिन दाहिना भएको संग्रौलाको विश्लेषण छ ।
‘दिन कि ईश्वर पोखरेलका छन् कि निजका सम्धीका। द्रव्य–पारखी ईश्वरका हातमा कोरोना नियन्त्रणको रकमको लागाम छ, निजका सम्धी उपेन्द्रकुमार कोइरालाका तालुमा राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष पद फल्ने भो’, संग्रौलाले आज ट्विट गर्दै भन्नुभएको छ, ‘भ्रष्टाचारलाई शून्य सहिष्णुताको तोत्र जप्ने ओलीका कृपाको यो करामत !’
उपप्रधानमन्त्री पोखरेलका सम्धी कोइराला पदमा हुँदा अनियमिततामा मुछिएका थिए । यसबीच पनि सरकारले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा नियुक्त गरेको छ । यसको सर्बत्र विरोध भइरहेको छ ।
उपप्रधानमन्त्री पोखरेलका सम्धी कोइरालालाई बैंकको अध्यक्ष बनाउने योजनाअनुसार अर्थमन्त्री डा. युवराज खतिवडाले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै सञ्चालकमा नियुक्त गर्नुभएको हो ।
