काठमाडौँ – नेपालमा चीन, रुस र बेलायतमा बनेका कोरोना भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायल गरिने भएको छ।
विश्वका विभिन्न सातवटा कम्पनीले भ्याक्सिन निर्माण गरी क्लिनिकल ट्रायलको तेस्रो चरणमा पुगेको अवस्था रहेकाले ती मध्ये तीनवटा कम्पनीसँग मिलेर नेपालमा पनि क्लिनिकल ट्रायल गर्न प्रस्ताव गरिएको छ।
चीनमा बनाइएको भ्याक्सिन १ हजार जनाका लागि ट्रायल गर्न प्रस्ताव आइसकेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए।
रुसमा बनेको भ्याक्सिन, चीनमा बनेको भ्याक्सिन र अक्सफोर्ड विश्वविद्यालयको समूहले बनाएको भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल नेपालमा पनि गर्न प्रस्ताव गरिएको डा. ज्ञवालीले बताए।
उनले नेपालका लागि रुसी राजदूतसँग आफैले भेटेर क्लिनिकल ट्रायल र उत्पादनका लागि चिठी लेखेर दिएको बताए।
यता नेपालका जनस्वास्थ्यविदहरुले पनि विभिन्न मुलुकमा बनेका कोरोना भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायल नेपालले पनि गर्न पाउनु सुखद पक्ष रहेको बताएका छन्। तर त्यसको पर्याप्त लाभ नेपालले लिन सक्नुपर्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुुनले बताए।
खोपको परीक्षण सम्पूर्ण रुपमा सफल भइसकेपछि नेपालले सस्तो मूल्यमा छिटो खोप प्राप्त गर्ने गरी सम्झौता गरेर मात्रै क्लिनिकल ट्रायलका लाग अनुमति दिनुपर्ने उनको राय छ ।
तर जनस्वास्थ्यविद डा. रवीन्द्र पाण्डेले चीन र बेलायतमा बनेका खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिए पनि रुसको खोपलाई भने अनुमति दिन नहुने बताएा छन्।
उनले रुसले निर्माण गरेको खोपको पहिलो र दोस्रो चरणको मानवीय परीक्षण पनि निकै थोरै मानिसहरुमा गरिएको र रुस आफैले पनि उक्त खोप निश्चित उमेरका व्यक्तिमा मात्रै परीक्षण गर्न सकिने बताएकाले त्यसमा प्रशस्त त्रुटिहरु रहेको प्रमाणित हुने बताए।
त्यसकारण रुसको खोपलाई नेपालमा क्लिनिकल ट्रायलको अनुमति दिन नहुने उनको तर्क छ।
तर चीन र बेलायतमा बनेका खोपे भने निकै भरपर्दा भएकोले त्यसको नेपालले पनि क्लिनिकल ट्रायल गर्न पाउनु आफैमा सुखद पक्ष रहेको डा. पाण्डेको भनाई छ।
उनले ती खोपहरु बढी भन्दा बढी व्यक्तिमा परीक्षण गर्न पाए नेपालमा कोरोनाबारेको बस्तुस्थितिबारे पनि धेरै कुरा थाहा हुने बताए।
कतिपयले शक्ति राष्ट्रहरुले गरिब मुलुकका जनतामा खोपको परीक्षण गरेर मानव स्वास्थ्यमाथि खेलवाड गरिरहेको आरोप लगाइरहेका छन्। तर डा. पाण्डे तेस्रो चरणको परीक्षणमा पुगिसकेको खोपले कुनै नकारात्मक असर नपार्ने दाबी गर्छन्।
व्यक्तिले इच्छा प्रकट गरी सम्पूर्ण रुपमा अनुमति दिएपछि मात्रै क्लिनिकल ट्रायलको प्रक्रिया सुरु हुने उनको भनाई छ।
अहिले कोरोनाविरुद्ध तयार भइरहेको खोपहरुबारे विश्वभर चासो बढेको छ। नेपालमा पनि यसको क्लिनिकल ट्रायल हुने भनेपछि मानिसहरुको चासो झन बढेर आएको छ।