काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टी एकता गरी नेकपा समाजवादी केन्द्र बनाउन प्रस्ताव गर्नुभएको छ ।
ललितपुरस्थित अध्यक्ष प्रचण्डको एक नातेदारको घरमा नेताद्वयबीच भएको भेटमा अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव गर्नुभएको हो ।
‘अब पार्टी एकता गरौं र समाजवादी केन्द्र बनाऔं । कम्युनिस्ट पार्टी बनाउँदा नेकपा एकीकृत समाजवादीका साथीहरूसहित एकताको वातावरण बन्छ,’ प्रचण्डले भट्टराईलाई गरेको प्रस्ताव उद्धृत गर्दै स्रोतले बताएको छ । भट्टराईले सुरुमा आफू कम्युनिस्ट पार्टीमा नफर्कने बताए पनि छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिनुभएको छ ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले केही दिनदेखि डा.भट्टराई लगायतका नेतासँग निरन्तर भेटघाट भइरहेको बताउनुभएको छ ।
यसअघि उनीहरुबीच गत मंगलबार सिंहदरबार स्थिति नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा छलफल भएको थियो ।