काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले उपचार गर्न ठुला सहर, राजधानी र विदेश धाउनुपर्ने परिस्थितिको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । आज काठमाडौंमा चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण जयन्ती समारोहमा बोल्दै उहाँले सर्वसाधारणलाई पायक पर्ने स्थानमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने बताउनुभएको हो ।
नेपालको संविधानले स्वास्थ्य सेवालाई मौलिक हकमा राखेको भन्दै उहाँले त्यस अनुसार सेवा दिन राज्यले आवश्यक नीति, कार्यक्रम र योजना तर्जुमा गर्नुका साथै पूर्वाधार विकास गर्नुपर्ने बताउनुभयो ।
मेडिकल शिक्षालाई सबै प्रदेश, भूगोल र क्षेत्रमा विकेन्द्रीकृत गर्न पनि उहाँले सुझाव दिनुभएको छ ।
उहाँले मेडिकल शिक्षा र स्वास्थ्य सेवालाई जनताको आकांक्षाअनुसार व्यवस्था गर्न स्वदेशमा मेडिकल शिक्षाको प्रवर्द्धन गर्न अत्यावश्यक रहेको पनि बताउनुभयो ।
नेपालको संविधानले स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने कुरालाई मौलिक हकको रूपमै व्यवस्था गरेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले सोही अनुसारको सेवा दिनका लागि राज्यले आवश्यक नीति, कार्यक्रम र योजना तर्जुमा गरी भौतिक एवम् संस्थागत पूर्वाधारको व्यवस्था गर्न ढिलाइ गर्न नहुने स्पष्ट पार्नुभयो।
उहाँले चिकित्सा शास्त्र अध्ययन संस्थानले स्वास्थ्य सेवाका लागि आवश्यक जनशक्ति निर्माणमा निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।
उहाँले जनताको आकांक्षा बमोजिम स्वास्थ्य शिक्षा तथा सेवामा सबैको पहुँच स्थापित गर्न स्वदेशमै भएका मेडिकल शिक्षाको प्रवर्द्धन गरी स्वावलम्बी तथा आत्मनिर्भर स्वास्थ्य प्रणालीको विकास गर्नु अति आवश्यक रहेको पनि बताउनुभयो।