काठमाडौं । नेकपा भित्रको विवाद मिलाउन भन्दै कार्यदलले दिएको प्रतिवेदनका बारेमा छलफल गर्न नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता हुन लागेको छ ।
विहान दश बजेतिर हुने भनिएको भेटवार्ता कार्यदलको प्रतिवेदनलाई कसरी अगाडि बढाउने भन्नेमा केन्द्रीत रहने श्रोतले जनाएको छ । पार्टीको सचिवालयले गठन गरेको ६ सदस्यीय कार्यदलले प्रधानमन्त्री ओलीको दुवै पद सुरक्षित गर्ने र अध्यक्ष प्रचण्डलाई थप अधिकार दिनेगरी प्रतिवेदन बुझाएकाले अन्य नेताहरुले स्विकार गर्लान की नगर्लान भन्ने आशंका बढीरहेका बेला यो छलफल हुन लागेको हो ।
विषेश गरेर अर्का बरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनालका बारेमा प्रतिवेदनमा थप उल्लेख नभएकाले उहाँहरुको प्रतिक्रिया के आउला र त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा ओली र प्रचण्डका बीचमा छलफल हुने बताइएको छ ।
कार्यदलले गत शनिबार अध्यक्षद्वय ओली र दाहाललाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमाथि सुरुमा अध्यक्षद्वयले पहिला छलफल गर्ने र त्यसपछि सचिवालयमा पेश गर्ने नेताहरुले बताएका छन् ।
तर सचिवालय सदस्य तथा बरिष्ठ नेता नेपाल होम आइशोलेशनमा बसेकाले सचिवालय बैठक अनिश्चित भएको छ। नेता नेपालका सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएपछि उहाँ होम आइशोलेशनमा बस्नु भएको हो । उहाँ आफुलाई भने कोरोनाको संक्रमण नदेखिएपनि उहाँ होम आइशोलेसनमा बस्नुभएको सहयोगीहरुले जनाएका छन् । उहाँ विना बैठक बस्ने संभावना कम देखिएको छ।
यसैबीच आजै मन्त्रीपरिषद्को बैठक बस्न लागेको छ । साँझ ५ बजेपछि बैठक बस्ने तय भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । बैठकमा कोरोनाभाइरसको सङ्क्रमणलगायतका विषयमा निर्णय हुने बताइएको छ ।