काठमाडौं । कांग्रेसकी छायाँ श्रममन्त्री डा. डिला संग्रौलाले विदेशमा रहेका श्रमिकहरुलाई स्वदेश फिर्ता ल्याउनेलगायतका काम तत्काल सम्पन्न गर्न सरकारसँग आग्रह गर्नुभएको छ । उहाँले आज विज्ञप्ति जारी गर्दै विभिन्न पाँच माग राखी यस्तो आग्रह गर्नुभएको हो ।
कोरोना महामारीका कारण काम गुमाएर लामो समयदेखि अरुको राहतको आसमा बसेका श्रमिकहरुको पहिचान गरी तत्काल निशुल्क उद्धार गर्न उहाँले माग गर्नुभएको छ ।
त्यस्तै, श्रम स्वीकृति लिएर गएका तर आफ्नो करार अवधि नपुगी कम्पनीले फर्किन वाध्य पारेका र कम्पनीले टिकट नदिएका श्रमिकहरुलाई सर्वोच्चको आदेश अनुसार श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्ने संग्रौलाको सुझाब छ ।
त्यसैगरी, विदेशमा समस्यामा परि फर्किनै पर्ने अवस्थामा रहेकाका हजारौं श्रमिक दाजुभाइ–दिदीबहिनीहरुलाई शिघ्र स्वदेश फर्काउन सके निःशुल्क, नसके कम शुल्कको उडानको ब्यवस्था गर्दै श्रमिकहरुले नै तिर्ने गरी ७ दिनको लागि होटल बुकिङ गर्नैपर्ने सरकारको नयाँ निर्णय फिर्ता लिएर होटलमा पैसा तिर्न नसक्ने श्रमिकहरुलाई निःशुल्क क्वारेन्टिनको ब्यवस्था गर्न उहाँको आग्रह छ ।
साथै, विदेशको विकासका लागि अनुभव बटुलेका श्रमिकहरुको सीपलाई प्रयोग गरी देश विकासमा उनीहरुको सहभागितासहितको रोजगारी र स्वरोजगार ब्यापार र ब्यवसाय गर्नेहरुलाई सरकारले कम ब्याजदरमा सुलभ ऋण र अनुदानको ब्यवस्था गर्नुपर्ने संग्रोलाको माग छ ।
‘कोरोना संकटभन्दा पहिले नै निधन भएका सत्तरीभन्दा बढी नेपालीहरुका शव विदेशमा अलपत्र छन्’, पाचौं बुँदामा भनिएको छ, ‘उनीहरुका परिवार, आफन्त “कि सास देउ, कि लास देउ” भनेर पर्खिरहेका छन् । उनीहरुको शव यथाशिघ्र नेपाल ल्याएर सम्बन्धित परिवारलाई जिम्मा लगाइयोस् ।’