काठमाडौं । राष्ट्र बैंक ऐन २१/२२ र कर्मचारी नियमावली १ सय ३४ अनुसार नेपाल राष्ट्र बैंकको गभर्नर कुनैपनि पार्टीमा आबद्ध हुन नमिल्ने व्यवस्था रहेको छ । तर, हालका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको भेटिएको छ ।
अहिले एम अधिकारीका रुपमा समितिमा रहेका अधिकारी २०७३ जेठ २१ गते एमालेले जारी गरेको प्रेस वक्तव्यमा उल्लेखित छन् । तर, एमालेको उक्त विभागमा राखिएको एम अधिकारी आफू नरहेको गभर्नर अधिकारीले दाबी गरेका छन् । यद्यपि, एम अधिकारी को हुन् भन्नेबारे एमालेले अर्को तस्बिर सार्वजनिक गर्न सकेको छैन । यसैबाट प्रष्ट भएको छ, गभर्नर महाप्रसाद अधिकारी एमालेका कार्यकर्ता हुन् ।
आज संसद्मा गभर्नर अधिकारीको विषयमा चर्को आलोचना भएको छ । एम अधिकारी र महाप्रसाद अधिकारी खोटाङ निवासी र हाल ललितपुर बस्ने व्यक्ति एउटै रहेको बताउँदै सांसद अञ्जना विसंखेले राष्ट्र बैंकको नियमावली विपरीत नियुक्ति भएकोप्रति कडा आलोचना गर्नुभयो ।
मुलुकको सिंगो अर्थतन्त्र सम्हालेको व्यक्तिले यो मुलुक श्रीलंका बन्छ, अर्थतन्त्र टाँट पल्टियो रियल स्टेट कारोबारी र शेयर बजारलाई धराशायी बनाउने प्रोपोगाण्डा गरेको भन्दै यसमाथि छानबिन हुनुपर्ने सांसद मीन विश्वकर्माको भनाइ छ ।
एक पार्टी आबद्ध भएर ऐन, नियम विपरीत गभर्नर नियुक्ति भएको व्यक्ति, नियुक्त गर्ने व्यक्तिलगायतलाई छानबिनको दायरामा ल्याउनुपर्ने सांसद रेखा शर्माको भनाइ छ ।
सांसद कृष्णभक्त पोखरेलले गभर्नरको बचाउ गर्दै, म कुनै पनि पार्टीमा आबद्ध छैन भनिसकेको व्यक्तिका विषयमा संसद्मा कुरा उठाउन जायज नभएको तर्क गर्नुभयो ।
एमाले नेता सूर्य थापाले महाप्रसाद अधिकारीले आफै म होइन त्या मान्छे भन्दा पनि गलत ढंगले प्रचार भइरहेको भन्दै यो परपीडक विषय भएको स्पष्ट पार्नुभयो ।
अधिकारीलाई केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले गभर्नरमा नियुक्त गरेको थियो । एमालेको अर्थ तथा योजना विभागका प्रमुख घनश्याम भुसालले सार्वजनिक पदमा रहेको व्यक्ति विभागमा नरहेको प्रष्टीकरण दिनुभएको छ । अहिले भुसालले पनि झुट बोलेको भन्दै उहाँको आलोचना भइरहेको छ ।