काठमाडौं । अछामको रामारोशनमा धानबाली माडेर गृहमन्त्री रामबहादुर थापा सहभागी कार्यक्रम भएको घटनामा गृह मन्त्रालयले घुमाउरो पारामा गल्ती स्वीकार गरेको छ ।
गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले आज विज्ञप्ति जारी गर्दै बाढीले नष्ट गरेको खोला किनारको धानखेत नजिकै कार्यक्रमस्थल बनाइएको सम्बन्धमा आएका सुझावहरुलाई आत्मसाथ गर्दै आगामि दिनमा यस्ता कुरामासमेत थप सचेतता अपनाउने प्रतिवद्धता जनाउनुभएको छ ।
गृह मन्त्रालयले कार्यक्रमस्थलको छनोट स्थानीय प्रशासन र गाउँपालिकाले तय गरेको भन्दै पन्छिन खोजेको देखिएको छ ।
बाढी र त्यसले पु¥याएको मानवीय र भौतिक क्षतिपछि प्रभावित क्षेत्रमा पुगेका गृहमन्त्री थापाले स्थानीयलाई सम्बोधन गर्न आयोजना गरिएको कार्यक्रमको तस्बिरमा धानबारी माडिएको देखिएपछि सो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
बाढी आएको पर्सिपल्ट भदौ ५ गते गृहमन्त्री थापा, उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, पूर्वउपप्रधानमन्त्री भीम रावलसहितको टोली हेलिकोप्टरमा प्रभावित क्षेत्रमा पुगेका थिए ।
लहलहइरहेको धान माडेर गृहमन्त्रीसहितको टोली कार्यक्रममा सहभागि भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।