काठमाडौं । राष्ट्रियसभाबाट ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ पारित भएको छ । राष्ट्रियसभाको मंगलबार (आज)को बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले तेजाब तथा घातक रासायनिक पदार्थ औद्योगिक तथा स्वास्थ्य क्षेत्रमा अत्यावश्यक रहे पनि यसको दुरुपयोगले समस्या ल्याएकाले तेजाब तथा घातक रासायनिक पदार्थ नियमन गर्न कानुन ल्याइएको बताउनुभयो।
तेजाब र घातक रासायनिक पदार्थको उत्पादन, आयात, निर्यात, भण्डारण, बिक्री वितरण र उपयोगलाई नियमन तथा व्यवस्थापन गर्न विधेयक प्रस्ताव गरिएको जनाउँदै उहाँले विधेयक पारित भएसँगै तेजाब तथा घातक पदार्थको दुरुपयोग नियन्त्रण हुने तथा यसको दुरुपयोग गर्नेलाई आवश्यक कारबाही हुने बताउनुभयो।