काठमाडौं । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ ।
धुलिखेल अस्पतालले गरेको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ) मा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेटिएको हो ।
अस्पतालका प्रयोगशाला तथा संक्रामक रोग अनुसन्धान प्रमुख प्रा.डा.राजीव श्रेष्ठले अन्य प्रयोगशालाबाट संकलन भएको नमुनालाई जिन सिक्वेन्सिङ मार्फत हेर्दा ‘बीए फाइभ’ उपप्रजाति भेटिएको पुष्टि गर्नुभएको छ ।
‘अन्य प्रयोगशालाबाट आएको नमुनालाई जिन सिक्वेन्सिङ मार्फत हेर्दा ओमिक्रोनको उपप्रजाति देखिएको छ,’ डा. श्रेष्ठले भन्नुभयो,’ यसले ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ फैलिएको छ भन्ने देखाउँछ ।’
उहाँका अनुसार संक्रमित व्यक्तिको ‘हिस्ट्री’ भन्ने खुल्न सकेको छैन । अन्य प्रयोगशालाबाट सङ्कलित नमुना भएका कारण थप जानकारी उपलब्ध नभएको अस्पतालले जनाएको छ । अहिले ओमिक्रोन भेरियन्टका दुई नयाँ उपप्रजातिका कारण कोरोनाभाइरस संक्रमण दर विश्वका केही देशमा पुन बढिरहेको छ ।
दक्षिण अफ्रिकामा उत्पत्ति भएको बीए फोर र बीए फाइभ उपप्रजातिहरूले युरोप, अमेरिका, जर्मनी लगायतका देशमा बढी संक्रमण फैलाइरहेको छ । जनस्वास्थ्यविद्हरू स्थिर रहेको संक्रमित संख्या दुई सातायता झण्डै चार गुणाले बढ्नुमा ‘बीए फाइभ’ले मदत पुर्याएको बताएका छन्।
अन्य भेरियन्टभन्दा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ छिटो फैलिएको पाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताउनुभयो। ‘केही महिना अगाडि युरोपेली देशमा संक्रमित बढ्नुमा बीए फोर र बीए फाइभ रहेको पाइएको छ,’ डा. पुनले भन्नुभयो,’ नेपालमा पनि पुष्टि भएसँगै संक्रमण फैलाउनुमा ओमिक्रोनको उपप्रजातिको मद्धत पुर्याएको पुष्टि हुन्छ ।’
तर, ‘बीए फाइभ’ उपप्रजातिको कारण मानिस कति जोखिममा पर्छन् भन्नेबारे पत्ता लागिसकेको छैन । बीए फाइभ’ उपप्रजातिले कस्तो अवस्था ल्याउने अहिले यकिन गर्न नसकिने डा. पुनले बताउनुभयो ।
‘