काठमाडौं । नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री हेरफेरका विषयमा सत्तारुढ गठबन्धनको शीर्ष तहमै छलफल गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
शनिबार बसेको एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको बैठकले मुख्यमन्त्री हेरफेरको विषय सत्तारुढ दलको शीर्ष तहमै छलफल गरेर टुङ्ग्याउनुपर्ने निष्कर्ष निकालेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री रहेका एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई हटाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले हस्ताक्षर अभियान नै चलाएका छन् । तर एकीकृत समाजवादीले भने मुख्यमन्त्री हेरफेरको विषय शीर्ष तहकै छलफलबाट टुङ्ग्याउनुपर्ने बताएको हो ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सबै प्रदेशमा समान ढंगले अवसरहरूको बाँडफाँड गर्ने गरी शीर्ष तहले नै टुङ्ग्याउनुपर्ने बताउनुभयो ।
सबै प्रदेशमा मुख्यमन्त्री परिवर्तनको विषय उठेको भन्दै उहाँले भन्नुभयो, ‘यसकारण गठबन्धनका दलभित्र बसेर सबैतिर एकैतिर सेटल गर्ने गरी उपयुक्त अवसरहरूको बाँडफाँड गर्ने गरी काम गर्यो भने सबैभन्दा परिपक्व हुन्छ, प्रत्येक सांसदहरूले तनाव लिनु पर्दैन । अथवा म फलानोलाई हटाउन लागिरहेको छु बनाउन लागिरहेको छु भन्ने तनावबाट उनीहरू मुक्त हुन्छन्, पार्टीभित्र दबाब कम हुन्छ ।’
७ प्रदेशमध्ये हाल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका २-२ जना र जनता समाजवादी पार्टीका एक जना मुख्यमन्त्री छन् । एकीकृत समाजवादीले पनि बागमती प्रदेशको मुख्यमन्त्री छाड्नुपर्ने अवस्थामा आफूहरूले पाइरहेको दुईवटा मुख्यमन्त्री पद घट्न नहुने अडान राखेको छ ।
एकीकृत समाजवादीका बागमती प्रदेशसभा सदस्य तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले शनिबारको संसदीय दलको बैठकले मुख्यमन्त्री परिवर्तनको विषय शीर्ष नेताको बैठकले टुङ्ग्याउने निर्णय गरेको बताउनुभयो ।