काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो एक महिना (२ जुन-३० जुन)मा भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स)बजारमा प्रतिस्पर्धी दरमा बिजुली बेचेर १ अर्ब ७२ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठदेखि आईईएक्समा बिक्री सुरु गरेको थियो । सुरुमा दुई वटा विद्युतगृहको ३९ मेगावाट विद्युत् दैनिक रुपमा आईईएक्समा बिक्री गरिएको थियो ।
त्यसपछि २७ जेठदेखि दैनिक रुपमा ३६४ मेगावाट विद्युत् भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।
नेपाल विद्युत् प्राधिकरणले भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणबाट ६ वटा जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत् आईईएक्स मार्केटमा बिक्री गर्न स्वीकृति पाएको छ ।
जुनमा १७ करोड ८१ लाख ९१ हजार युनिट विद्युत् भारतीय बजारमा बिक्री गरिएको छ । प्राधिकरणले यस अवधिमा भारतमा बिक्री गरेको विद्युतबाट सम्पूर्ण शुल्कहरू कटाएर खुद नाफा १ अर्ब ७२ करोड ३० लाख रुपैयाँ कमाएको छ । जुन महिनामा प्रतिस्पर्धी बजारमा बिक्री गरिएको विद्युतको औसत प्रति युनिट दर ९ रुपैयाँ ६७ पैसा छ ।
आईईएक्समा २४ घण्टालाई १५-१५ मिनेटको ९६ वटा स्लटमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक समयको मूल्य फरक-फरक हुने गरेको छ ।
प्राधिकरणले यस अवधिमा विद्युत् बिक्रीको औसत दर सबैभन्दा बढी १५ जुन (१ असार)मा पाएको छ । त्यस दिनको प्रतियुनिट औसत दर १५ रुपैयाँ ९३ पैसा थियो । सबैभन्दा कम औसत दर २१ जुन (७ असार)मा थियो । त्यसदिन औसत दर प्रतियुनिट ४ रुपैयाँ ९२ पैसा थियो ।
यस अवधिमा ३ जुन (२० जेठ)मा सबैभन्दा कम ५६ लाख ६७ हजार रुपैयाँको विद्युत् बिक्री गरिएको छ । त्यस दिन ९ लाख ४ हजार ८ सय युनिट विद्युत् बिक्री गरिएको थियो । सबैभन्दा बढी १४ जुन (३१ जेठ) ७ करोड २८ लाख रुपैयाँको विद्युत् बिक्री भएको छ । त्यस दिन ७८ लाख १३ हजार ३ सय युनिट विद्युत् बिक्री गरिएको छ ।
यता प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालले गत वर्षबाट सुरु गरिएको भारतीय प्रतिस्पर्धी बजारमा विद्युत् व्यापार यस वर्षबाट थप प्रभावकारी रुपमा अगाडि बढेको बताउनुभएको छ ।