काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले यसै वर्ष हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धन हुने सम्भावना कम रहेको बताउनुभएको छ ।
शनिबार सिन्धुपाल्चोकमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिको बधाइ तथा शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कारण वाम गठबन्धनको सम्भावना नरहेको बताउनुभएको हो ।
पुनले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले आफूलाई फाइदा हुने र गठबन्धनका अरु दललाई घाटा हुने गरी चलाखी गरेको टिप्पणी गर्नुभयो । कांग्रेसको चलाखीका बाबजुद अझै कांग्रेससँगको गठबन्धनको औचित्य नसकिएको उहाँको टिप्पणी छ ।
केही देशीविदेशी तत्वहरुले यस पटकको निर्वाचनमा माओवादी केन्द्र पत्तासाफ हुने हल्ला चलाए पनि जनताले त्यसलाई गलत सावित गरिदिएको पनि पुनले दाबी गर्नुभयो ।