Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा हैजाको प्रकोप, खतरा कायमै रहेको चिकित्सकको भनाइ

काठमाडौंमा हैजाको प्रकोप, खतरा कायमै रहेको चिकित्सकको भनाइ

  • बुधवार, आषाढ ८ २०७९

  • 598
    SHARES

  • काठमाडौंमा हैजाको प्रकोप, खतरा कायमै रहेको चिकित्सकको भनाइ

    काठमाडौं । देशका विभिन्न भागमा वर्षेनि हैजाको संक्रमण देखिने गरेको छ । यो वर्ष भने काठमाडौंमै हैजाको संक्रमण देखिएको छ । उपत्यकामा एकपछि अर्को गर्दै हैजा संक्रमित फेला पर्न थालेपछि चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् । काठमाडौंमा अहिलेसम्म चारजनामा हैजाको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

    हैजा कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको सङ्क्रमणका कारण हुने गर्छ । हैजा झाडापखालाजस्तो देखिने भएपनि समयमै उपचार नभए ज्यानै जान सक्ने जोखिम रहने गरेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनु हुन्छ ।

    पिउने पानी, खानेकुरा र व्यक्तिगत सरसफाई अभावका कारण हैजा फैलने सम्भावना बढी हुन्छ । त्यसैले यस्ता कुरामा सावधानी अपनाउन डाक्टर पुनको आग्रह छ । काठमाडौंमा देखा परेको हैजाको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिनका टोली नै गठन गरेको छ ।

    स्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा ६ सदस्यीय छानबिन टोली गठन गरिएको हो । काठमाडौंमा पुष्टि भएको हैजाको कारण पत्ता लगाउन टोलीले काम गर्ने अधिकारीले बताउनुभयो । हालसम्म बागबजार र डिल्लीबजारमा हैजा पुष्टि भएका सम्बन्धित ठाउँ र परिवारमा पुगेर उक्त टोलीले खानेपानीको नमुना संकलन गरेको उहाँले जानकारी दिनुभयो । अधिकारीले कस्तो खानेकुरा वा खानेपानीको सेवन भएको छ जस्ता कुराहरु अनुगमन गर्ने र नुमना संकलन गर्ने काम भएको जानकारी पनि दिनुभयो ।


    बागबजारमा पुष्टि भएको हैजाका बिरामीले जार र धारा दुवैको पानी नउमालिकन खाने गरेको पाइएको थियो । जनस्वास्थ्य कार्यालयले शुद्ध खानेपानी खान, प्रदुषित खानेकुरा तथा झिंगा भन्केको खानेकुरा नखान आग्रह गर्दै माइकिङ समेत शुरु गरेको छ । यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने काठमाडौंमा केहि जनामा हैजा देखिएपनि प्रकोप नै फैलिने अवस्थामा नरहेको जनाएको छ ।

    हैजा सम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिनुभएको छ ।


    गर्मी र बर्खायाममा विशेषगरी झाडापखाला, हैजा तथा पानीजन्य रोगहरु फैलिने हुँदा सबैलाई सजक र सतर्क हुन मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न, व्यक्तिगत सरसफाइ, खानेकुराको सरसफाइ तथा खुला रुपमा दिसापिसाब नगर्न र चर्पीको प्रयोग गर्न र दिसापिसाब गरेपछि अनिवार्य रुपमा साबुन पानीले हात धुन अनुरोध गरिएको छ ।

    हैजा छिटो फैलिने भएकाले एक जनामा देखिए पनि यसलाई ठूलो जोखिम मानिने हुदा सवैले सतर्कता अपनाउन जरुरी देखिएको छ । त्यसैले हैजाको संक्रमणबाट बच्न सावधानी र संक्रमित भइहाले समयमै उपचार गराउनु जरुरी छ ।

     


    बुधवार, आषाढ ८ २०७९०८:०८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij