काठमाडौं । स्थानीय सहमतिबेगर काठमाडौंको फोहोर बञ्चरेडाँडामा फालेपछि उत्पन्न विवाद सुल्झाउन सरकार र आन्दोलनरत समूहबीच शुक्रबार वार्ता हुने भएको छ।
वार्तामा सरकार तर्फबाट सहरी विकास मन्त्री रामकुमारी झाँक्री, आन्दोलनरत संघर्ष समितिका संयोजक श्रीराम ढुङ्गाना, फोहोरमैलाबाट प्रभावित नुवाकोट र धादिङका वडाध्यक्ष, नुवाकोटका कांग्रेस नेता प्रकाशशरण महत लगायत सहभागी हुने जनाइएको छ ।
सहरी विकास मन्त्रालयले सोमबार नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिका प्रमुखलाई मात्र राखेर बञ्चरेमा फोहोर फाल्ने सम्झौता गरेको थियो। सम्झौता हस्ताक्षर गर्दा स्थानीय बासिन्दालाई संलग्न गराइएको थिएन। आफूलाई सोध्दै नसोधी गुपचुप सम्झौता गरेको भन्दै स्थानीयले मान्न अस्वीकार गरेका थिए। प्रभावित वडाका जनप्रतिनिधिहरूले पनि आपत्ति जनाएका छन् ।
यसले मंगलबारदेखि सिसडोल र बञ्चरेडाँडा क्षेत्र तनावग्रस्त बनेका छ । सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरेर मंगलबार डेढ सयभन्दा बढी ट्रक फोहोर फालेको थियो। बुधबार भने स्थानीयको प्रतिकारपछि फोहोर लिएका गएका गाडीहरू त्यसै फर्किएका थिए।
तनाव चर्किँदै गएपछि सहरी विकास मन्त्रालयले बञ्चरेडाँडा संघर्ष समिति र वडाका प्रतिनिधिसमेतलाई राखेर शुक्रबार वार्ता गर्न लागेको हो। वार्ता बिहान ८ बजे मन्त्रालयमा हुँदैछ।
वार्तामा ककनी गाउँपालिका वडा नम्बर १, २ र ३ तथा धुनिबेसी नगरपालिका वडा नम्बर १, ३ र ४ का वडाध्यक्ष सहभागी हुने छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र बञ्चरेडाँडा डम्पिङ साइट आयोजना प्रमुख रवीन्द्र बोहोराले पनि भाग लिने छन्।