Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

अछाममा प्रहरीले जाहेरी लिएपछि मृतक परिवारले बुझ्यो शव, मेयर चलाउनेसहित १३ जनाविरुद्ध जाहेरी 

अछाममा प्रहरीले जाहेरी लिएपछि मृतक परिवारले बुझ्यो शव, मेयर चलाउनेसहित १३ जनाविरुद्ध जाहेरी 

  • बिहिवार, जेठ २६ २०७९

  • 986
    SHARES

  • अछाममा प्रहरीले जाहेरी लिएपछि मृतक परिवारले बुझ्यो शव, मेयर चलाउनेसहित १३ जनाविरुद्ध जाहेरी 
    काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १५ वर्षीय किशोर विनोद शाहीको परिवारले शव बुझेको छ ।
     
    जेठ १७ गते रातिदेखि बेपत्ता शाही ६ दिनअघि घर नजिकैको स्थानीय जङ्गलमा मृत अवस्थामा फेला परेका थिए । परिवारले हुलाकमार्फत १३ जनाविरुद्ध दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि बिहीबार शव बुझेको हो ।
     
    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भोलाबहादुर रावलले मृतकका परिवारले शव बुझेको जानकारी दिनुभयो ।  ‘परीक्षणपछि मृतकका आफन्तले शव बुझ्नुभएको छ,’ एसएसपी रावलले भन्नुभयो ।, उहाँहरूले ‘हुलाकमार्फत पठाउनुभएको किटानी जाहेरी पनि दर्ता भइसकेको छ ।’ जिल्ला प्रहरी कार्यालय अछामले क-कसकाविरुद्ध किटानी जाहेरी परेको छ भन्ने कुरा गोप्य राखेको छ ।
     
    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले किटानी जाहेरीमा उल्लेख गरिएका नाम सञ्चार माध्यमलाई दिन नमिल्ने बताउनुभएको छ। प्रहरी स्रोतकाअनुसार पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने, जिल्ला समन्वय समितिकी उपप्रमुख दानमती शाही, पूर्ववडाध्यक्ष सज्जनबहादुर शाही, स्थानीय महेन्द्र शाही, देवेन्द्र शाही, शान्ति शाही, रामबहादुर शाहीसहितका १३ जनाविरुद्ध किटानी जाहेरी परेको छ ।
     
    वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । स्थानीय प्रशासनका अनुसार विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करिब तीन घण्टा मतदान रोकिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।
     
    पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । पछि उनी मृत भेटिएका थिए ।
     
    घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालयका एसएसपी जनकराज पाण्डे, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का डिएसपी मनोहरप्रसाद भट्ट नेतृत्वको टोली तालिमप्राप्त कुकुरसहित खटिएको छ ।


    बिहिवार, जेठ २६ २०७९०४:२३:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij