काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनावपछि एमालेमा खतराको घण्टी बजिसकेको टिप्पणी गर्नुभएको छ ।
यदि एमालेले समयमै नचेतेमा ठुलो विनाश हुनसक्ने नेपालले बताउनुभयो । अध्यक्ष नेपालले स्थानीय तहको चुनावको परिणामले एमालेको हैसियत स्पष्ट पारिसकेकाले बेलैमा सचेत हुनुपर्ने बताउनुभयो ।
केपी ओली नसच्चिएकाले नै पाँचदलीय गठबन्धन बनाएर संविधान, गणतन्त्र, परिवर्तनको रक्षा गर्न एक भएको नेपालले बताउनुभयो ।
पाँच दलीय गठबन्धन बनाउनु रहर नभएको बताउँदै नेपालले देश र जनताको इच्छा चाहनामा निर्माण भएको जिकिर गर्नुभयो । गठबन्धनमा अविश्वास र आशंका नहोस् भन्नेमा सबै दलहरू सचेत हुनुपर्ने अध्यक्ष नेपालको भनाई छ ।
यस्तै सत्ता गठबन्धनका विषयमा अनेक भ्रम फैलिए पनि आगामी प्रदेश र संघको चुनावसम्म जाने नेपालको दाबी छ ।