काठमाडौँ । स्थानीय सरकारलाई जनस्वास्थ्यविद्हरुले यही मौकामा स्वास्थ्य चौकीका भवन र शैया बढाउन सुझाव दिएका छन् । नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा बरिष्ठ जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले धमाधम स्वास्थ्य चौकीका भवन र शैया बढाउन स्थानीय सरकारलाई सुझाव दिनुभएको हो ।
उहाँले भन्नुभयो, “अहिले अरु काम गर्ने अवस्था छैन, त्यो सवै बजेट फ्रिज हुन्छ, बरु सवै स्थानीय सरकारले धमाधम स्वास्थ्य चौकीका भवन र शैया बनाए हुन्थ्यो नी ।”
स्वास्थ्य संस्थाका लागि गरेको लगानी कहिल्यै खेर नजाने तर्क गर्दै उहाँले नेपालमा स्वास्थ्य संरचना निर्माण प्राथमिकतामा नपरेको टिप्पणी गर्नुभयो ।
जनस्वास्वास्थ्यविद् मरासिनीले स्थानीय सरकारहरुले पनि अपेक्षित काम गर्न नसकेको आरोप लगाउनुभयो । “स्थानीय सरकारले पनि कुरा ठूला गर्ने, काम गरिहाले पनि भद्रगोल गर्ने, आफैँ हाइफाई गर्ने, तर गर्नु पर्ने काम ढंग पुर्याएर नगर्ने समस्या देखियो,” उहाँले भन्नुभयो ।
कोरोना महामारी विरुद्ध लड्न केन्द्रदेखि स्थानीय तहसम्म जति तयारी हुनुपर्ने हो, त्यस्तो नभएर अति सुस्त मात्रै भएको उहाँले टिप्पणी गर्नुभयो ।
जनस्वास्वास्थ्यविद् मरासिनीले भन्नुभयो, “सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसहितको टोली बनाउनु प¥यो, गौडा गौडामा ढुक्नु प¥यो, सोधपुछ र परीक्षण गर्नुप¥यो ।”
विश्वका धेरै देशमा कोरोना नियन्त्रण अधिकारी तोकिएपनि नेपालमा त्यस्तो नगर्दा पनि व्यवहारिक तथा प्रशासनीक समस्या भईरहेको उहाँको भनाई छ । उहाँले कोरोनाको सामान्य लक्षण देखिएका वा पुष्टि भएर पनि समस्या नभएकाहरुलाई घरमै सुरक्षित बस्न प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।