काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका दुई, सुनसरी, मोरङ, मकवानपुर र भक्तपुरका एक–एक जना रहेका छन् ।
पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका भिश्वाका ५७ वर्षीय र वीरगञ्ज–४ विर्ता का ८४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवकाअनुसार दुवैको मृत्यु कोरोना संक्रमणबाट भएको जानकारी नारायणी अस्पतालका चिकित्सकले गराएका छन् ।
भिश्वाका पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नारायणी अस्पतालमा लगिएको र त्यहीँ उनको मृत्यु भएको थियो । जिन एक्सपर्ट विधिमार्फत कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ आएको हो ।
कोरोना संक्रमण भइ २७ साउनदेखि गण्डक अस्पतालमा उपचाररत ८४ वर्षीय पुरुषको उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
त्यस्तै, सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङका ६७ वर्षीया र धरानका ७१ वर्षीया महिला रहेका छन् ।
मोरङ बुडीगंगा २ की ६७ वर्षीय महिलाको मंगलबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ । विराट मेडिकल कलेजबाट हिजो नै प्रतिष्ठानमा रेफर भएकी ती संक्रमित महिलामा अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएको थियो ।
आज बिहान धरान ७१ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो । ती महिला कोरोनाको लक्षण देखिएपछि साउन २४ गते बिहान अस्पताल भर्ना भएकी थिइन् । त्यसअघि नै साउन २३ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
त्यसैगरी, मकवानपुरको हेटौंडामा पनि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
गएराति मृत्यु भएका हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलकी ६१ वर्षका वृद्धामा आज कोरोना संक्रमण पुष्टि भएको हो । लामो समयदेखि बिरामी रहेकी उनी स्वासप्रश्वासमा समस्या देखिएपछि हेटौंडा अस्पतालमा भर्ना भएका थिए ।
मृत्युपछि प्रादेशिक ल्याब हेटौंडामा गरिएको परीक्षणमा मृतकमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा आइसोलेसन वार्डका प्रमुख भोला चौलागार्इँले जानकारी दिनुभयो ।
यता, ललितपुरको पाटन अस्पतालमा उपचाररत भक्तपुरको सूर्यविनायक निवासी ६१ वर्षीया महिलाको पनि आज मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ती महिला गत साउत २१ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् ।