नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले देशको झण्डा, नक्सा वा अन्य कुनै पनि प्रतीक चिन्ह जलाउनेलाई के गर्ने भनेर कुनै छलफल र बहसको आवश्यकता नै नभएको बताएका छन् । नेपाली राष्ट्रियता र जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरुले भरिएको गीत युट्युव राखेर राष्ट्रिय झण्डा जलाएको घटनाप्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।
आज ट्विट गर्दै प्रवक्ता शर्माले यस्ता क्रियाकलाप गर्नेलाई तत्काल गिरफ्तार गरेर कानुनमा ब्यवस्था भए बमोजिम कडा कार्वाही गर्न आग्रह गरेका हुन् ।
‘देशको झण्डा, नक्सा या अन्य कुनै पनि प्रतीक चिन्ह जलाउनेलाई के गर्ने भनेर कुनै छलफल र बहसको आवश्यकता नै हुँदैन’, उनले भनेका छन्, ‘उनीहरुलाई तत्काल खोजी गरेर गिरफ्तार गर्ने र कानुनमा ब्यवस्था भए बमोजिम कडा कारवाही गर्नुपर्छ ।’
जातीय घृणा फैलाउने यस्ता क्रियाकलापलाई निरुत्साहित गर्नुपर्ने प्रवक्ता शर्माको भनाइ छ ।
‘कुनै पनि जाति, समुदाय र संस्कृतिको कुरा गरिरहँदा अर्को जाति, समुदाय र संस्कृतिलाई अपमान गर्ने प्रवृत्ति निरुत्साहित गरिनैपर्छ’, उनले भनेका छन्, ‘पहिचान भेटिने द्वन्द्व मेटिने, भावना र परिस्थिति हाम्रो अभिष्ट हो । यो संवेदनशीलताको हेक्का एवं साझा अस्तित्वको बाटोबाट मात्रै हामी समुन्नतिमा पुग्छौं ।’
नेपालको पहिचान र नेपालीको संवेदनशीलता उपरको प्रहार जोबाट होस् त्यो कहिल्यै क्षम्य नहुने शर्माको भनाइ छ ।
नेपाली राष्ट्रियता र जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरुले भरिएको एउटा गीत आज मात्रै युट्युवमा आएको थियो ।
देशद्रोही’ शीर्षकको उक्त गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट अपलोड गरेको हो ।
