काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १५ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकता अझ सुदृढ होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरिएको छ ।
सन्देशमा भनिएको छ, “यस ऐतिहासिक दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित गर्ने अपेक्षासहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनास्वरूप प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएका उहाँको भनाइ छ ।