काठमाडौं । अमेरिकामा आयोजना हुन लागेको आइसिसी विश्वकप लिग-टु क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृङ्खलाका लागि नेपाली टोली अमेरिका प्रस्थान गरेको छ ।
टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले एक कार्यक्रमको आयोजना गरेर बिदाइ गरेको थियो । टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगाएतको टोलीले बिदाइ गरे ।
अमेरिका जानुअघिको बिदाइ कार्यक्रममा कप्तान सन्दीप लामिछानेले तयारी राम्रो भएकाले नतिजा पनि राम्रो आउने विश्वास व्यक्त गरे ।
‘टोली सन्तुलित छ । हामी सबै पक्षमा तयार छौँ । हामी एक दिवसीय मान्यतालाई जोगाउने भन्दा खेललाई सुखद बनाउने योजनामा हुनेछौँ,’ उनले भने ।
धेरै खेल खेल्न बाँकी रहेकाले नेपाली टोलीलाई अर्को चरण पुग्नका लागि पनि अमेरिका भ्रमण निकै महत्त्वपूर्ण रहेको बताए । कप्तान लामिछानेले ब्याटिङ पक्षमा सुधार भएको र अमेरिका भ्रमणमा ब्याटिङ पक्षले जिताउनेमा आफू आसवादी रहेको बताए ।
मुख्य प्रशिक्षक पुबुदु दशानायकेले नेपाली टोली तयारी राम्रो भएको सुखद नतिजा निकाल्नमा आफू आशावादी रहेको प्रतिक्रिया दिए ।
पहिलो पटक शृङ्खलाका लागि नेपाली टोली अमेरिका गएको हो । अमेरिकामा नेपालले घरेलु टोली र ओमानसँग त्रिकोणात्मक शृङ्खला खेल्नेछ । शृङ्खला पूर्व नेपाली टोलीले अमेरिकामा त्यहाँका दुई क्लबसँग अभ्यास खेल खेल्ने तालिका छ ।
नेपालले पहिलो खेल ओमानसँग जुन ९ तारिखमा खेल्नेछ । त्यसपछि जुन ११ मा नेपाली टिमले अमेरिकासँग खेल्नेछ भने जुन १४ मा ओमानसँग दोस्रो खेल खेल्ने तालिका रहेको छ । यस्तै जुन १५ मा अमेरिकासँग दोस्रो खेल्ने छ ।
आइसिसी विश्वकप लिग-टु प्रतिस्पर्धा गरिरहेका ७ टिमले ३६ वटा म्याच खेल्नु पर्छ । अहिलेसम्म ३२ म्याच खेलेको ओमानले १९ खेलमा जित र १ खेलमा बराबरी गर्दा १ खेल भने नतिजा विहीन बनेको थियो । ओमान ४० अङ्कसहित शीर्ष स्थानमा छ ।
यसैगरी स्कटल्यान्ड २४ अङ्कसहित दोस्रो स्थानमा रहँदा युएई २२ अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।
१२ खेल मात्र खेलेको नेपाल अहिले छैटौँ स्थानमा छ । पपुवा न्युगिनीले २० खेलमा प्रतिस्पर्धा गर्दा एक मात्र जित निकाल्दै २ अङ्क जोडेर तालिकाको पुछारमा छ ।
अमेरिका पाँचौँ स्थानमा छ भने नामिविया चौथो स्थानमा छ । ७ मध्य शीर्ष ३ मा पर्ने टिमले अर्को वर्ष हुने विश्वकप क्रिकेटको छनोटका लागि स्थान बनाउने छन् ।