काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले गेटा मेडिकल कलेजको विषयमा भ्रम सिर्जना नगर्न आग्रह गर्नुभएको छ ।
गेटा मेडिकल कलेजका विषयमा अनावश्यक टिका टिप्पणी र आन्दोलन भएकोप्रति आश्चर्य प्रकट गर्दै उहाँले यस्तो बताउनुभएको हो । सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै डा.देउवाले तीन सय शैय्याको अस्पताल खोल्ने तयारी भइरहेकोसमेत प्रष्ट पार्नुभएको छ।
‘गेटामा रहेको क्याम्पस सम्बन्धी विभिन्न टिका टिप्पणी भएको सुन्दा म आश्चर्यमा परेकी छु। चैत ४ गते नै तीन सय शैय्याको अस्पताल खोल्ने निर्णय बाहिर आइसकेको छ’, डा.देउवाले भन्नुभयो, ‘सरकारको नियम अनुसार काम अगाडि बढ्छ । बेकारको भ्रम सिर्जना नगर्न म अनुरोध गर्न चाहन्छु।’
नेपाल सरकारको नियम अनुसार अस्पताल चलाएपछि मात्र क्याम्पस बनाउन सकिने कुरा प्रष्ट रहेको भन्दै उहाँले कानुन अनुसार गेटामा अस्पताल चाँडै सञ्चालन हुने प्रष्ट पार्नुभएको छ। ‘चुनावका कारण अलिकति ढिला भएको हो र केही हप्तामै काम अगाडि बढ्छ’, उहाँले थप्नुभयो।
डा.राणाले कलेजका लागि आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गरिनेसमेत उल्लेख गर्नुभएको छ। एकै पटक मेडिकल कलेज सञ्चालन गर्न कानुनतः नमिल्ने भन्दै उनले यो विषयमा भ्रम सिर्जना नगर्न सबैलाई अनुरोध गर्नुभयो।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :
https://www.facebook.com/arzu.rana.948/videos/309930701339927