काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्रमुख प्रतिपक्ष दल एमालेले सरकारको नीति तथा कार्यक्रमबारे सांसदहरूलाई आफ्नो विचार राख्न अवरोध गरेर गल्ती गरेको टिप्पणी गरेकी छन् ।
मन्त्री झाँक्रीले एमाले अध्यक्ष केपी ओलीलाई संसदमा प्रश्न गर्दा संसद् अवरुद्ध पारेर सांसदहरूले सरकारको नीति तथा कार्यक्रमबारे आफ्नो विचार राख्न एमालेले नदिएको आरोप लगाएकी हुन् ।
बिहीबार एमाले अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रमबारे दिएका कतिपय अभिव्यक्ति निराधार र झुटा रहेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आपत्ति जनाएपछि त्यसको विरोधमा एमालेले प्रतिनिधिसभा अवरुद्ध पारेको थियो । सोही प्रसङ्ग उल्लेख गर्दै मन्त्री झाँक्रीले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीलाई प्रश्न नै गर्न नमिल्ने हो रु भनी प्रश्न समेत गरिन् ।
‘के डेमोक्रेसीमा उहाँले भनेको कुरा यो गलत हो भन्न नपाउने त होइन होला । फेरि संसद्का आफ्ना मर्यादाहरू पनि छन् । मर्यादाभित्र त सबै बस्नुपर्छ । उहाँलाई प्रश्न गर्नै नहुने प्रश्नरहित व्यक्ति हो र रु प्रश्नरहित व्यक्ति होइन । अरू ढङ्गले पनि जवाफ दिन सकिन्थ्यो । यसरी अवरोध गर्नु राम्रो होइन ।’ मन्त्री झाँक्रीले संसदमा मर्यादा भित्र सबै रहनुपर्ने पनि स्पष्ट पारिन् ।