काठमाडौँ – व्यवस्थापनको नाममा रोजगारीबाट हटाएको भन्दै कान्तिपुर टेलिभिजनविरुद्ध कर्मचारीहरुले आन्दोलनको चेतावनी दिएका छन् । कान्तिपुर टेलिभिजन कर्मचारी संघले आज एक विज्ञप्ति जारी गर्दै अन्यायपूर्ण ढंगले जागिरबाट निकाल्ने निर्णय २४ घण्टाभित्र फिर्ता लिन चेतावनी दिएको छ ।
फिर्ता नलिए बाध्यात्मक आन्दोलनका कारण सिर्जना हुनसक्ने घटना र परिणामबारे व्यवस्थापन आफैं जिम्मेवार हुने संघले चेतावनी दिएको छ ।
हाल कोरोना भाइरसको महामारीका समयमा पनि अग्रपङ्तिमा रहेर काम गरिरहेका कर्मचारीहरुलाई प्रोत्साहन गर्नुको सट्टा व्यवस्थापनको नाममा वर्षौदेखि कार्यरत कर्मचारीहरुलाई जागिरबाट हटाउन खोजेको संघले आरोप लगाएको छ ।
कान्तिपुर टेलिभिजन कर्मचारी संघका कार्यवाहक महासचिव राजन तामाङ, केन्द्रीय सदस्य प्रकाश थापा र रवीन्द्रध्वज शाहलाई एचआर प्रमुख र स्टेसन म्यानेजरबाट धम्कीपूर्ण भाषामा रोजगारीबाट निष्काशन भएको र अरु कर्मचारीलाई पनि भेदभावपूर्ण रुपमा नामावली तयारगरी रोजगारीबाट हटाउने भन्दै मौखिक जानकारी गराइएकोप्रति संघले कडा आपत्ति प्रकट गरेको छ ।
‘संघको कार्य समितिमै रहेका कर्मचारीहरुलाई नियोजित रुपमा निकाल्ने प्रयास संघमाथिकै आक्रमण हो भन्ने हामीले ठानेका छौँ’, संघकी अध्यक्ष निर्मला बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ, ‘संस्थाको आधिकारिक ट्रेड युनियनमा रहेकै कारणले कर्मचारीहरुले रोजगारी गुमाउनुपर्ने अवस्था आउनु आफंैमा दूर्भाग्यपूर्ण र ट्रेड युनियनको अधिकारको भावना विपरित छ ।’
रोजगारीबाट निकाल्ने भनेर मौखिक जानकारी गराइएका कर्मचारीहरुको रोजगारीको निरन्तरता र सुनिश्चितता तत्काल गर्नका लागि हामी व्यवस्थापन समक्ष माग गर्ने र त्यसको सम्बोधन नभए आन्दोलन गर्ने संघको चेतावनी छ ।
‘रोजगारीबाट निकाल्ने भनेर मौखिक जानकारी गराइएका साथीहरुको रोजगारीको निरन्तरता र सुनिश्चितता तत्काल गर्नका लागि हामी व्यवस्थापन समक्ष माग गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ, ‘यदि, बाध्यात्मक आन्दोलनको कारणबाट सिर्जना हुन सक्ने घटना र परिणामबारे व्यवस्थापन नै जिम्मेबार हुने जानकारी गराउन चाहन्छौँ ।’
साथै, यस अन्यायपूर्ण कार्यको विरोधमा सबै पत्रकार तथा कर्मचारी साथीहरुलाई तयारी अवस्थामा रहन र आन्दोलनको कार्यक्रममा एकजुट भइ दिन पनि संघले अपिल गरेको छ ।
