काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने विषयले अहिले काँग्रेस भित्र तरंग फैलिएको छ ।
सभापति शेरबहादुर देउवाका सवैभन्दा बलियो सहयोगी मानिदै आउनु भएका निधिले देउवालाई नै भेटेर उम्मेदवारीका लागि तयारी गरेको बताएपछि तरंग फैलिएको हो ।
पार्टीमा व्यक्तिगत रुपमा पनि सवैभन्दा बढी शक्तिशाली मानिनु भएका सभापति देउवालाई आफ्नै समूहको नेताले चुनौती दिन खोज्नुलाई आफैमा ठूलो सहासको रुपमा लिइएको छ ।
पार्टीका पुराना नेता रोमी गौचनले सभापति देउवालाई सहयोग गर्नेले नै म आफै उठ्छु भन्नु आफैमा पार्टीका लागि सकारात्मक भएको बताउनुभयो ।
गौचनले भन्नुभयो, “देउवाजीलाई सहयोग गर्ने मान्छेहरुले यसरी बोल्ने आँट गर्छन् जस्तो लागेको थिएन, उहाँले साँच्चै मन देखि नै उम्मेदवारीका लागि तयारी गर्नुभएको हो भने उहाँ महेन्द्रनारायण निधिको सच्चा सुपुत्र ठहरिनुहुनेछ ।”
नेता पुत्र भएको कारणले मात्रै नभई पार्टीमा योगदान गरेकै आधारमा पनि निधिले सभापतिको उम्मेदवारी दावी गर्नु स्वभाविक भएको नेता गौचनको भनाई छ ।
उहाँले नेता निधि बाहेक अन्य नयाँ पुस्ताका नेताहरुले पनि पदाधिकारीमा उम्मेदवारी दिने र पार्टीलाई नयाँ नेतृत्वमा लैजाने प्रयास गरिरहेकाले पनि पार्टीमा आशा जगाएको बताउनुभयो ।
युवा नेताहरु गगन थापा, डा. चन्द्र भण्डारीलगायतले नेतृत्वका लागि हस्तक्षेपकारी भूमिका खेल्नेगरी उत्रिन थालेकाले उनीहरुलाई प्रोत्साहन गर्नुपर्ने नेता गौचनको भनाई छ ।