Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

ओली–मोदीको टेलिफोन संवाद खासै महत्व दिनुपर्ने विषय होइनः कांग्रेस

ओली–मोदीको टेलिफोन संवाद खासै महत्व दिनुपर्ने विषय होइनः कांग्रेस

  • शनिवार, श्रावण ३१ २०७७

  • 810
    SHARES

  • ओली–मोदीको टेलिफोन संवाद खासै महत्व दिनुपर्ने विषय होइनः कांग्रेस

    काठमाडौँ –  नेपाल र भारतका प्रधानमन्त्रीबीच आज भएको टेलिफोन संवादले दुई देशबीच पछिल्लो केही समय यता बढेको असमझदारी हटाउने पाइलाकोे पहिलो खुड्किलोको रुपमा विश्लेषण गरिएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज दिउँसो झण्डै ११ मिनेट टेलिफोन संवाद भएको थियोे ।

    प्रधानमन्त्री तहमा भएको यो संवादका विषयबस्तुबारे दुवै देशका परराष्ट्र मन्त्रालयलेहरुले वक्तव्य जारी गरेर जानकारी दिएका छन्।
    भारतको ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा बधाई तथा शुभकामना दिने बहानामा भएको ओली र मोदीबीचको संवादले दुई देशबीच पछिल्लो केही समय यता बढेको तिक्तता मेटाउने महत्वपूर्ण कडिका रुपमा लिन सकिने राजनीतिक विश्लेषक लोकराज बरालले बताउनुभयो ।

    नेपाल र भारतबीचको सीमा विवाद र पछिल्लो समय रामजन्मभूमिबारे नेपालका प्रधानमन्त्री ओलीको विवादित अभिव्यक्तिपछि दुइै देशको सम्बन्ध चिसिएको थियो । दुवै देशका कतिपय स्थानमा एक अर्काका प्रधानमन्त्रीको पुत्ला जलाउने सम्मका गतिविधिहरु भएका थिए । तर अब संवादहिनताको अन्त्य प्रधानमन्त्री तहकै संवादबाट भएकोले विवाद समाधानबारे वार्ता हुनेमा आशा राख्न सकिने ठाउँको विकास भएको बरालले विश्वास व्यक्त गर्नुभयो ।

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने दुई देशका प्रधानमन्त्रीबीच आज भएको टेलिफोन संवादलाई मोदीको घैँटोमा घाम लागेको रुपमा बुझ्न सकिने टिप्पणी गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कलाई प्रतिक्रिया दिँदै केसीले छिमेकीसँगको सम्बन्ध सुमधुर बनाउनुपर्छ भन्ने कुरा मोदीले बुझ्न थालेको रुपमा ब्याख्या गर्नुभयो ।

    उहाँले विगतदेखि नै नेपाललाई भारतले हेप्दै आएको कुरा नमिठो सत्य भएको बताउनुभयो । यद्यपि सीमा विवादपछिको संवादहिनता प्रधानमन्त्री तहकै संवादमार्फत अन्त्य भएको कुरालाई भने महत्वपूर्ण मान्नुपर्ने उहाँको आशय छ ।

    ओली र मोदीबीचको आजको टेलिफोन संवादलाई नेपालमा मात्रै नभई भारतमा पनि महत्वका साथ हेरिएको छ । भारतका मुख्य सञ्चार माध्यमहरुमा पनि यो विषयले प्राथमिकताका साथ स्थान पाएको छ । तर प्रमुख विपक्षी नेपाली कांग्रेसले भने दुई छिमेकी मुलुकका प्रधानमन्त्रीबीच भएको टेलिफोन संवादलाई सामान्य रुपमा लिएको बताएको छ ।

    पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भारतको स्वतन्त्रता दिवसका अवसरमा भएको ओली र मोदीको संवादलाई सामान्य रुपमै लिनुपर्ने प्रतिक्रिया दिनुभयो ।

    नेपाल र भारतबीच सीमा विवाद चर्केपछि दुुई देशको शीर्ष तहमा संवाद हुन नसकिरहेका बेला आज प्रधानमन्त्री तहमै संवाद भएको विषयलाई दुवै देशमा महत्वका साथ हेरिएको छ । दुई देशका प्रधानमन्त्रीबीच नेपाल र भारतका द्वीपक्षीय मुद्दामा सम्वादलाई जारी राख्ने सहमति भएको समेत परराष्ट्र मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख छ ।


    शनिवार, श्रावण ३१ २०७७०७:५३:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij