काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र लामो समय देखिको विवाद समाधानतर्फ अघि बढेको छ । आज प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्तापछि विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएसँगै नेकपाको विवाद समाधानतर्फ अघि बढेको हो ।
पार्टीभित्र देखिएका समस्या पार्टीभित्रै समाधान गर्न सकिन्छ भन्ने निष्कर्षमा अध्यक्षद्वय पुगेको समितिका संयोजक विष्णु पौडेलले प्रतिक्रिया दिनुभएको छ । पौडेलले पार्टीभित्र देखिएको समस्यालाई संस्थागत ढंगले समाधान गर्न कार्यदल गठन भएको पनि जानकारी दिनुभयो ।
कार्यदलले समस्या पहिचान गर्ने र समाधानको सुत्र पहिल्याउदै सुझावसहितको प्रतिवेदन अध्यक्षद्वयलाई बुझाउने संयोजक पौडेलको भनाई छ । उहाँका अनुसार सोही प्रतिवेदन अध्ययन गरी अध्यक्षद्वयले पार्टीको औपचारिक बैठकमा प्रस्तुत गर्नुहुने छ । उहाँले विभाजनको कल्पना गर्ने प्रवृतिको अगाडि कार्यदल गठनपछि नेकपा अझ एकतावद्ध भएर अगाडि बढ्ने सन्देश प्रवाह भएको दाबी समेत गर्नुभयो ।
कतिपयले पार्टीमा विग्रहको कल्पना गरेको बताउँदै पौडेलले अब नेकपामा कुनै प्रकारको विग्रह नहुने, एकतावद्ध भएर अगाडि बढ्ने र एकता अच्छुर्ण रहने कुरा सुनिश्चित भएको बताउनुभयो । महासचिव पौडेलले नेकपा एकतावद्ध रहने कुरामा आश्वस्त रहन पनि सबै नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
‘नेकपा एकतावद्ध रहने कुरामा अस्वस्त रहन सबैमा आग्रह गर्दछु । आफ्नो अभिभारा सफलतापूर्वक पूरा गर्न नेकपा अगाडि बढेको छ । नेकपामा विग्रहको खोजी गर्ने शक्तिहरु, प्रवृतिहरु र तत्वहरुलाई भन्न चाहान्छु, अब नेकपाभित्र खेल्ने यस्ता कोशिस नगर्नुहोला । नेकपा आफ्नो अभिभारा बुझ्न र जनताले दिएको जिम्मेवारी पुरा गर्न प्रतिवद्ध छ’, पौडेलले भन्नुभयो ।
पार्टीभित्रका समस्याहरु जटिल अवस्थामा रहेको उल्लेख गर्दै उहाँले पार्टीका आन्तरिक समस्याका कारण सरकार सञ्चालनमा समेत समस्या रहेको बताउनुभयो ।
कार्यदलमा महासचिव पौडेलसँगै स्थायी समति सदस्यहरू शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनादर्न शर्मा र पम्फा भुसाल रहेका छन् । कतिपयले नेकपा कार्यदल गठनमा समेत भागवण्डा भएको र वरिष्ठ नेता माधव कुमार नेपाल समूहलाई पनि समान हैसियत दिन ओली तयार भएको व्याख्या गरिरहेका छन् ।
कार्यदलमा महासचिव पौडेल र शंकर पोखरेल ओली समूहका नेता हुन भने भीम रावल र सुरेन्द्र पाण्डे नेपाल समूहका नेता हुन् । यस्तै प्रचण्ड समूहबाट जनार्दन शर्मा र पम्फा भुषाललाई कार्यदलमा राखिएको छ ।