काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनले निर्वाचनविरुद्ध हिंसात्मक गतिबिधि गरेको आरोप लगाएका छन् ।
निर्वाचन सम्पन्न भएपछि शुक्रबार साँझ प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले निर्वाचनमा गठबन्धनले हिंसा भड्काउने काम गरेको आरोप लगाएका हुन् ।
ओलीले गठबन्धनले एमालेविरूद्ध अग्रिम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रूपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्य गरेको भन्दै आपत्ति जाएका छन् । उनले गठबन्धनको निर्वाचन नै नगराउने षडयन्त्रलाई चिर्दै आज वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको उल्लेख गरेका छन् ।
प्रतिकूलतालाई पन्छाउँदै लाखौं नयाँ मतदाता र १ सय १३ वर्ष उमेरको पाको ज्येष्ठ नागरिकसम्मले आधारभूत तहको लोकतन्त्रलाई सुदृढ गर्न उत्साहका साथ मतदान गरेको ओलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।