काठमाडौं– निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनले दुई दिन बिदाका कारण पाठ्यभार पूरा गर्न सम्भव नहुने प्रतिक्रिया दिएको छ । बुधबार शिक्षा मन्त्रालयले विद्यालयमा शनिबार र आइतबार गरी सातामा दुई दिने बिदा दिने औपचारिक निर्णय गरेसँगै निजी विद्यालयले पाठ्यभार पूरा गर्न नसकिने प्रतिक्रिया दिएको हो ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का अध्यक्ष डिके ढुङ्गानाले सातामा दुई दिन बिदा गर्दा शिक्षा नियमावलीमा भएको व्यवस्था विपरीत १८० दिन पढाई हुन नसक्ने बताए ।
ढुङ्गानाले भने, ‘शिक्षा नियमावली अनुसार वर्षमा २२० दिन विद्यालय खोल्नुपर्छ र १८० दिन पढाउनैपर्छ । तर नयाँ व्यवस्थाले अब त्यो सम्भव छैन । पाठ्यक्रमको विकास गर्दा नै १८० दिनको पाठ्यभार राखेर डिजाइन गरिएको छ । तर अब वर्षमा औषतमा दुई सय दिन विद्यालय खुल्दा नतिजा प्रकाशन लगायतको कामका कारण १८० दिन पढाउन सम्भव हुँदैन । जसका कारण पाठ्यभार पूरा गर्न सकिँदैन ।’
मन्त्रालयले सातामा दुई दिन विदा दिने निर्णय गरेसँगै यसको परिपूरण कसरी गर्ने भनेर मन्त्रालयलाई नै सोधेको ढुङ्गानाले बताए ।
ढुङ्गानाका अनुसार पाठ्यभार पूरा नभएको अवस्थामा आफूहरुले विदाका दिन पनि विद्यालय खोलेर पढाउने बताए ।
ढुङ्गानाका अनुसार कोभिड १९ का कारण विद्यार्थीको शैक्षिक गुणस्तर खस्किएको छ । त्यसकारण पनि यस वर्ष विद्यालयमै राखेर विद्यार्थीलाई पढाउने व्यवस्था हुनुपर्नेमा फेरि धेरै विदा दिँदा विद्यार्थीको सिकाइमा असर गर्ने बताए ।
सरकारले पेट्रोलियम पदार्थको खपतलाई लिएर सातामा दुई दिन विदा दिने निर्णय गरेको भएपनि पेट्रोलियम पदार्थको मूल्य सस्तिएको अवस्था वा समय अनुकुल भएपछि दुई दिन विदाको व्यवस्था हट्ने आफूहरुको अपेक्षा रहेको ढुङ्गानाले बताए ।