काठमाडौँ । पाल्पाको रामपुर नगरपालिका वडा नं. १० गेझामा यस पटक इतिहास उल्टीने दावी धेरैले गरेका छन् ।
साविकको गेझा गाविस र अहिलेको रामपुर १० मा अहिलेसम्म सधैँ एमालेका उम्मेदवारहरुले जित्दै आएकोमा अहिले भने नेपाली काँग्रेसको उम्मेदवारले जित्ने दावी गरिएको हो ।
जनमोर्चाको भोट निणायक हुदै आएको यस वडामा विगतमा जनमोर्चाले समर्थन गर्दा एमालेले जितेकोमा अहिले जनमोर्चाले नेपाली काँग्रेसलाई समर्थन गरेकाले काँग्रेसको जित स्पष्ट देखिएको स्थानीय उपेन्द्र अधिकारीको भनाई छ ।
विगतमा एमालेको गढ मानिने बर्दलेबाट नै नेपाली काँग्रेसको वडा सभापति समेत रहनु भएका विजय राना वडा अध्यक्षको उम्मेदवार हुनुभएको छ ।
आफ्नै ठाउँको छिमेकी र युवा नेता उम्मेदवार भएकाले एमालेकै कतिपय कार्यकर्ता पनि विजयको पक्षमा लागेको पाइएको छ । विगतमा काँग्रेसका मतदाताहरुको भागाभाग हुने गरेको बर्दलेमा यस पटक भने काँग्रेसकै युवा कार्यकर्ताहरुको प्रभाव बढी देखिएको स्थानीयले बताएका छन् ।
मेयरमा पनि नेपाली काँग्रेसकै उम्मेदवार रमण बहादुर थापाले पुन मेयर पद जित्ने संभावना अत्यधिक भएकाले मेयरमा जस्ले जित्छ, वडामा पनि त्यसैलाई जिताउनु पर्ने अनुभव वडावासीले गरेका छन् ।
यसअघि मेयरमा काँग्रेसका उम्मेदवार र वडा अध्यक्षमा एमालेका उम्मेदवारलाई जिताउँदा नगरपालिकासँग सहकार्य गर्न वडाअध्यक्षलाई समस्या भएकाले वडामा पनि मेयरकै प्यानललाई जिताउनु पर्ने निश्कर्ष वडावासीले निकालेका हुन् ।
काँग्रेस, जनमोर्चा र माओवादी सहितको गठवन्धनले वडा सदस्यहरुको उम्मेदवार पनि पार्टीगत, क्षेत्रगत र जातगत हिसावले पनि सन्तुलित गराएको छ । वडा सदस्यमा गठवन्धनको तर्फबाट रामबहादुर आले, विष्णु खाम्चा, सुनिता विक र नमनाथ कुमाल उम्मेदवार बन्नु भएको छ । दुई जना सदस्य जनमोर्चाका उम्मेदवार भएपनि निर्वाचन चिन्ह भने सबैलाई ‘रुख’ नै दिइएको छ ।
काँग्रेसका वडा अध्यक्षका उम्मेदवार बिजय राना युवा जोस जाँगरको भएको, सवैलाई परिचालन गर्न सक्ने, सहयोगी तथा समन्वयकारी, सहासी र चिर परिचित युवा नेता भएकाले उहाँले जित्ने संभावना देखिएको स्थानीयको आँकलन छ ।
वडा अध्यक्षका उम्मेदवार रानाले जनमोर्चासँग सहकार्य गर्न आफु सफल भएकाले पनि आफुले सबैलाई मिलाएर लैजान सक्ने पुष्टि गरिसकेको दावी गर्नुभयो ।
उहाँले सवैको सहयोगमा कसैलाई पनि काखा—पाखा नगरी वडाको काम गर्न चाहेकाले समाज र समग्र वडाको बिकासको लागि एक पटकलाई मौका दिन पनि वडावासीलाई अनुरोध गर्नु भएको छ ।
वडाका कुनै पनि काम एक कलमा गर्ने उहाँको अठोटले स्थानीय बासिन्दा थप खुशी भएका छन् । उहाँले ‘एक कलमा काम’ चुनावी अभियान नै चलाउनु भएको छ ।
वडा अध्यक्षका उम्मेदवार बिजय रानाले सार्वजनिक पुस्तकालय, जेष्ठ नागरीक विश्राम स्थल, साँस्कृति र पर्यटकीय धार्मिक स्थलहरुको संरक्षण तथा संर्वधन गर्ने ,सामुदायिक अध्ययन तथा योग साधना केन्द्र स्थापना गर्ने, सार्वजनिक निकायमा अपाङ्गता, बाल र बृद्धमैत्री बनाउने, कृषिमा अनुदान, किसानलाई सम्मान र नयाँ प्रविधि तथा औजारको प्रयोग बढाउने, वडाका सम्पुर्ण भित्री सड्कहरुको स्तर उन्नतिको लागि पहिले पक्की नाली तथा ग्राबलको ब्यवस्थापन गर्ने तया कालो पत्रे निर्माणको लागि केन्द्र सरकार सङग समन्वय गर्ने, कालिगण्डकी करिडोर सडकको कलात्मक ब्यवस्थापन गरी सडकको दायाँ बायाँ बृक्षारोपण गरि पार्क निमाण गर्ने, खाने पानी र सिंचाइको अभाव मा रहेका वाडका टोलहरुमा पहिले खाने पानी र सिंचाइ लाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने योजना बनाउनुभएको छ ।